पहिरो जाँदा थुनियो मुस्ताङको नरसिंह खोला, निकास जाने विकल्प खोजिँदै

हिमाल प्रेस १७ कार्तिक २०८२ ७:१३
142
SHARES
पहिरो जाँदा थुनियो मुस्ताङको नरसिंह खोला, निकास जाने विकल्प खोजिँदै

काठमाडौँ- मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ स्थित नुन खानी खोंचमा पहिरो जाँदा नरसिंह खोला थुनिएको छ।

स्थानीय प्रशासनले शनिबार रातिदेखि खोला थुनिएको जानकारी दिएको हो। खोला थुनिएको स्थान भन्दा मुनि पानी सुकेको जानकारी स्थानीयले गराएका मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी बताए।

‘खोलाको पानी पुरै थुनिएको छ, अलिअलि मात्रै रसाएको देखिन्छ,’ प्रजिअ भुसालले भने, ‘आज दिउँसो नेपाली सेनाको ड्रोनमार्फत थुनिएको स्थान खोजी गर्‍यौँ, नुन खानी नजिक दुईतर्फी पहिरो गएर खोलाको पानी ताल बनेको पाइयो।’

सेनाले खोला थुनिएर ताल बनेको स्थानको तत्काल विश्लेषण गर्दा सोमबारसम्म ताल नभरिने र नफुट्ने जानकारी प्राप्त गरेको प्रजिअ भुसालले बताए। सेनाको ड्रोनमार्फत लिएको तस्बीर हेर्दा खासै ठूलो ताल बनेको जस्तो नदेखिएको उनको भनाइ छ।

खोलाको पानी सुकेसँगै खोलातर्फको सडकबाट आउजाउ गर्ने सवारी साधन नचलाउन र मानिसलाई ओहोरदोहोर नगर्न जिल्ला प्रशासनले सूचना जारी गरेको छ।

वारागुङ–३ स्थित प्राचीन नुन खानी तेताङ गाउँको उत्तररपूर्वमा पर्छ। तेताङबाट पैदल एक घण्टा यात्रामा पुग्ने सकिने नुनखानी दुई अग्ला अग्ला विशाल पहाडको खोंचमा पर्छ।

‘थुनिएको खोलाको ताल फुटेर तल छुसाङको तटीय बस्तीमा हुने जोखिम कम भएको हामीले विश्लेषण गरेका छौँ, सोमबार बिहान नुन खानीमा पुगेर थुनिएको स्थानलाई निकास दिने विकल्प खोज्छौँ,’ प्रजिअ भुसालले भने। सो स्थान छुसाङबाट डेढ घण्टाको पैदल दुरीमा पर्छ। रासस

प्रकाशित: १७ कार्तिक २०८२ ७:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast