सवारी नवीकरण जरिवाना मिनाहा गर्ने कोशी सरकारको निर्णय

हिमाल प्रेस १६ कार्तिक २०८२ १८:५९
20
SHARES
सवारी नवीकरण जरिवाना मिनाहा गर्ने कोशी सरकारको निर्णय

काठमाडौँ- कोशी प्रदेश सरकारले जेनजी आन्दोलनका कारण बन्द रहेका यातायात व्यवस्था कार्यालयहरूको अवधिमा सेवाग्राहीलाई लाग्ने जरिवाना पूर्ण रूपमा मिनाहा गर्ने निर्णय गरेको छ।

प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आन्दोलनका कारण समयमा सवारी साधन दर्ता, नवीकरण र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्न नसकेका सेवाग्राहीलाई जरिवाना नलाग्ने व्यवस्था गर्ने निर्णय गरेको हो।

कोशी प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीका अनुसार, आन्दोलनका क्रममा कार्यालयहरू बन्द रहेका दिनलाई जरिवाना गणना अवधिमा नपारिने र सोही अवधिको समय थपिने व्यवस्था गरिएको छ।

मन्त्री भण्डारीले जेनजी आन्दोलनका क्रममा पूर्ण रूपमा क्षति पुगेका इटहरीका दुई यातायात व्यवस्था कार्यालय र झापाको बिर्तामोडस्थित कार्यालयमा सर्भर पुनःस्थापना भएपछि चालक अनुमतिपत्र वितरणलगायतका सबै सेवा पुनः सञ्चालनमा आउने जानकारी दिए।

बैठकले शैलजा आचार्य प्रादेशिक अस्पताल सञ्चालनका लागि कानुनी ढाँचा तयार गर्न र शैलजा अस्पताल हृदयरोग केन्द्र सञ्चालन कार्यविधि स्वीकृत गर्ने निर्णय पनि गरेको उनले बताए।

त्यसैगरी, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतका केही कार्यालयमा अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरिएको छ। बैठकमा जेनजी आन्दोलनका क्रममा क्षति भएका मन्त्रालय र मातहत निकायहरूको प्रतिवेदन भौतिक पूर्वाधार विकास मन्त्रालयलाई बुझाइएको छ। मन्त्रालयले ती क्षतिग्रस्त संरचनाहरूको तत्काल मर्मत तथा आवश्यकता अनुसार पुनर्निर्माण कार्य अघि बढाउने तयारी गरेको मन्त्री भण्डारीले बताए।

प्रकाशित: १६ कार्तिक २०८२ १८:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast