निरन्तर वर्षाले राजमार्ग अवरुद्ध, बीपी, मेची, तमोर करिडोरमा यातायात ठप्प

हिमाल प्रेस १४ कार्तिक २०८२ ९:०९
14
SHARES
निरन्तर वर्षाले राजमार्ग अवरुद्ध, बीपी, मेची, तमोर करिडोरमा यातायात ठप्प मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका-९ स्थित इलाम-राजदुवाली सडकखण्ड। बिहीबारदेखिको निरन्तर वर्षाका कारण आएको पहिरो र हिलोका कारण सो सडकखण्ड अवरुद्ध भएको छ। तस्बिर : रामकुमार लिम्बू/रासस

काठमाडौँ- अविरल वर्षापछि देशका विभिन्न स्थानमा बाढीपहिरोका कारण प्रमुख राजमार्गहरू अवरुद्ध भएका छन्। तमोर करिडोर, मेची राजमार्ग र बीपी राजमार्गमा यातायात पूर्णरूपमा रोकिएको छ।

धनकुटा र पाँचथरको सिमानामा पर्ने नावा खोलामा बाढी आएपछि धरान-धनकुटा-मूलघाट हुँदै पाँचथर र ताप्लेजुङ जोड्ने तमोर करिडोर सडकखण्ड अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ। सो क्षेत्रमा खोलाले सडक बगाउँदा यातायात आवागमन पूर्ण रूपमा ठप्प भएको हो।

मेची राजमार्गअन्तर्गत इलामको राजदुवाली क्षेत्रमा समेत सडक अवरुद्ध भएको छ। गत असोजमा आएको बाढीपहिरोले क्षति पुगेपछि अस्थायी रूपमा खुलेको सडकमा पुनः पहिरो र जमिन भासिँदा राजमार्ग फेरि बन्द भएको हो।

मोन्था चक्रवातको आंशिक प्रभावले इलामसहित कोशी प्रदेशका पहाडी जिल्लाहरूमा थप जोखिम बढेको पूर्वानुमानपछि जिल्ला प्रशासन कार्यालयले बिहीबार साँझदेखि नै सो सडकखण्डमा सवारी सञ्चालनमा रोक लगाएको थियो।

यसैबीच, बीपी राजमार्ग पनि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ। निरन्तरको वर्षाका कारण राजमार्गअन्तर्गत चौकीडाँडा, नाङसाल क्रसर, बोक्सीकुना र माम्ती लगायत स्थानमा पहिरो र लेदो खसेपछि सवारी आवागमन पूर्णरूपमा रोकिएको हो।

प्रहरीका अनुसार अवरोध हटाउन प्रयास भइरहेको छ तर लगातारको वर्षाले काम अघि बढाउन कठिनाइ भएको छ। यात्रुहरूलाई सुरक्षित रहन र आवश्यक नपरी यात्रा नगर्न अनुरोध गरिएको छ।

प्रकाशित: १४ कार्तिक २०८२ ९:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast