काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पार्टी सुधार र महाधिवेशन आयोजनासम्बन्धी चारवटा विकल्पसहितका प्रस्तावहरू बुझाएका छन्। दिउँसो १ बजे बस्ने केन्द्रीय समिति बैठकअघि दुई नेताबीच भेट भएको थियो। सो अवसरमा शर्माले पार्टीको आन्तरिक कार्यसम्पादन र महाधिवेशनको तयारीबारे विस्तृत सुझाव प्रस्तुत गरेका हुन्।
शर्माले पहिलो विकल्पका रूपमा महामन्त्री गगन थापाद्वारा प्रस्तावित मंसिर २७ देखि २९ गतेसम्मको कार्यतालिका केन्द्रीय समितिमा प्रस्तुत गरी पारित गर्न सुझाव दिएका छन्। उनले सभापतिको नेतृत्वलाई उच्च सम्मानका साथ अनुसरण गर्दै व्यक्तिगत वा समूहगत आग्रहभन्दा माथि उठेर पार्टी एकतालाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
दोस्रो विकल्पका रूपमा शर्माले विधानको धारा १७ (२) अनुसार केन्द्रीय समितिले चाहेमा मंसिर मसान्तभित्रै विशेष महाधिवेशन बोलाउन सकिने व्यवस्था प्रयोग गर्न आग्रह गरेका छन्। उनका अनुसार समय कम हुँदै गएकाले पार्टीलाई निर्णायक निर्णयतर्फ लैजान यो विकल्प व्यवहारिक हुन सक्छ।
तेस्रो विकल्पमा उनले सोही विधानको व्यवस्था अनुसार ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले लिखित रूपमा माग गरेमा मंसिर मसान्तभित्र विशेष महाधिवेशन आयोजना गर्न सकिने उल्लेख गरेका छन्। तर, यदि यसमा पनि सहमति जुट्न नसके भने पार्टीमा व्यापक युवा सहभागिता सुनिश्चित गर्न नियमित महाधिवेशन नै उपयुक्त हुने ठहर शर्माले गरेका छन्।
चौथो विकल्पका रूपमा उनले थप तयारीका लागि समय लिएर नियमित महाधिवेशन नै आयोजना गर्न सुझाव दिएका छन्। उनका अनुसार यसका लागि पुस १६ देखि १९ सम्मको मिति उपयुक्त हुनेछ। उनले सो मितिलाई जननायक बीपी कोइरालाले राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएको ऐतिहासिक दिनका रूपमा स्मरण गर्दै त्यस मितिमा महाधिवेशन गर्नाले प्रतीकात्मक सन्देश जाने बताएका छन्।
बैठकका तयारीका सन्दर्भमा शर्माले निर्वाचन समिति पुनर्गठन, विधान संशोधन मस्यौदा समिति गठन र महाधिवेशन तयारीसँग सम्बन्धित अन्य उपसमितिहरू गठन गर्न प्रस्ताव गरेका छन्। उनका अनुसार यसले महाधिवेशनको प्राविधिक तथा संगठनात्मक तयारीलाई सहज बनाउनेछ।
फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनबारे उनले प्रतिनिधिसभा विघटनसम्बन्धी संवैधानिक विवादमा सर्वोच्च अदालतको अन्तिम निर्णयपछि स्पष्टता आउने भन्दै पार्टीलाई फागुन २१ को निर्वाचन तयारीमा लाग्ने सुझाव दिएका छन्।
महाधिवेशन प्रतिनिधि चयनसँगै उम्मेदवार छनोट प्रक्रियाबारे पनि शर्माले प्रस्ताव राखेका छन्। उनका अनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट क्षेत्रीय प्रतिनिधिहरूले कम्तीमा एक महिलासहित तीन जनाको नाम उम्मेदवारका रूपमा सर्वसम्मत या निर्वाचन प्रक्रियाबाट सिफारिस गर्नुपर्नेछ।
त्यसैगरी, राष्ट्रिय राजनीतिलाई सही दिशामा लैजानका लागि शर्माले सबै दलहरूसँग संवादको आयोजना गर्न सुझाव दिएका छन्। साथै, जेनजी पुस्तासँग संवाद गर्न तीन सदस्यीय कार्यदल गठन गर्नुपर्ने प्रस्ताव पनि उनले कार्यवाहक सभापति खड्कालाई दिएका छन्।
शर्माका प्रस्ताव
१) पहिलो विकल्प – कार्यसम्पादनमा महामन्त्री गगन थापाद्वारा प्रस्तावित मंसिर २७-२९ को कार्यतालिका केन्द्रीय समितिमा प्रस्तुत गरेर पारित गरौं। (सभापतिज्युले कुन उचाइमा उठेर हेर्नुभयो, हामीले त्यो पछ्याउँ व्यक्तिगत या समुहगत आग्रहभन्दा माथि उठेर काम गरौं)
(मंसिर मसान्तसम्म नियमित महाधिवेशन आयोजना गर्न समय अपर्याप्त हुँदै गएको ठहर भए)
२) दोस्रो विकल्प – विशेष महाधिवेशन मंसिर मसान्तभित्रै विधानको १७ (२) बमोजिम `केन्द्रीय समितिले चाहेमा´ भनेर उल्लेखित दफा बमोजिम बोलाउँ।
३) तेस्रो विकल्प- विधानको १७ (२) बमोजिम नै ४०% बढी महाधिवेशन प्रतिनिधिहरुले गरेको लिखित माग सम्बोधन गर्दै, मंसिर मसान्तभित्रै। (यसमा पनि सहमति नजुटे, व्यापक युवा प्रवेशको ढोका खोल्न, विशेष भन्दा नियमित उपयुक्त ठहर गर्दै।
४) चौथो विकल्प- थप समय लिएर नियमित महाधिवेशन नै आयोजना गरौं। त्यसका लागि पुष १६ देखि १९ सम्मको मिति उपयुक्त हुन्छ भन्ने मेरो आग्रह छ। (पुष १६ जननायक विपि कोइरालाले रास्ट्रीय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किनुभएको ऐतिहासिक मिति)
बैठकबाट तयारी सम्बन्धमा
१) निर्वाचन समिती पुनर्गठन
२) विधान संशोधन मस्यौदा समिति गठन
३) महाधिवेशन तयारीसँग सम्बन्धित अन्य उपसमिति गठन
फागुन २१ लाई घोषित निर्वाचन सम्बन्धमा
प्रतिनिधि सभा विघटन उपर उब्जिएको संवैधानिक प्रश्नको निरुपण सम्मानित सर्वोच्च अदालतले गरेपछि त्यसको ठोस टुंगो लाग्ने नै छ l अन्तिम हुने सबैका को प्रतीक्षा गर्दै फागुन २१ को निर्वाचनको तयारीमा पार्टी लाग्ने निर्णय।
फागुन २१ का लागि उम्मेदवार चयनको प्राइमरी
महाधिवेशन प्रतिनिधि चयनसँगै हरेक निर्वाचन क्षेत्रबाट क्षेत्रीय प्रतिनिधिले न्युनतम एक महिलासहित ३ जनाको नाम फागुन २१ को उम्मेदवारका रूपमा सर्वसम्मत या निर्वाचनको प्रक्रियाबाट सिफारिस गर्न लगाउने निर्णय।
– राष्ट्रिय राजनीतिलाई सहि ट्र्याकमा ल्याउन सबै राजनैतिक दलहरूसँग संवादको आयोजना।
– जेनजीसँग संवाद गर्न ३ सदस्यीय कार्यदल गठन



