काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आगामी फागुन २१ को प्रतिनिधिसभाको निर्वाचनमा होमिएको छ। पार्टीले मतदाता नामावली दर्ता सहजीकरण अभियान सन्चालन गर्ने र समानुपातिक उम्मेदवार चयन गर्ने कार्यक्रम अघि बढाउने निर्णय गरेको छ।
रास्वपाको आज सम्पन्न पार्टी सचिवालयको बैठकले निर्वाचनमैत्री काम गर्ने जनाएको छ। बैठकले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन केन्द्रित तयारीको क्रममा समानुपातिक तर्फको उम्मेदवारी आव्हान गर्नका लागि आवश्यक दस्तावेजहरुबारे छलफल गर्ने निर्णय लिएको छ। बैठकले २०८२ कात्तिक २२ भित्र समानुपातिकतर्फको उम्मेदवारी आव्हान गर्ने निर्णय गरेको छ।
यस्तो छ बैठकको निर्णय
१। “बृहत् राजनीतिक संवाद” आयोजना गर्ने ।
जेनजी पुस्ताले सुशासनको पक्षमा गरेको निर्णायक हस्तक्षेप पश्चातको परिवर्तित राजनीतिक परिवेशमा प्राप्त उपलब्धिहरुको दिगो संरक्षण गरी मुलुकको दीर्घकालीन रूपान्तरणका लागि समान सोच र शैली भएका व्यक्ति एवं समूहहरुबीच वृहत् राजनीतिक एलायन्स निर्माणको गृहकार्य स्वरुप राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न चरणमा द्विपक्षीय संवादहरु गरिरहेको विदितै छ । गत तीन वर्षको संघर्षशील संसदीय अनुभवको जगमा हाल छरिएर भइरहेका पहलहरूलाई एकरुपता दिने हाम्रो सदिच्छा पनि छँदैछ । प्रवास र स्वदेशका आम नेपाली जनताले आशा(अपेक्षा राखेका नयाँ राजनीतिक शक्तिहरू, स्वतन्त्र विचारक एवं अभियन्ता र नवयुवा पुस्ताका प्रतिनिधिहरुबीच सार्थक सहकार्य नहुँदा पश्चगमनको ढोका खोलिने अप्रिय सम्भावनाको यथार्थबोध गर्दै विविध राजनीतिक विकल्पबारे खुला छलफलका लागि यही कार्तिक १४ गते “बृहत् राजनीतिक संवाद” आयोजना गर्ने निर्णय गरिएको छ । वृहत् राजनीतिक संवादको उद्देश्यहरू निम्न रहेका छन् स्
क। आन्दोलनको उत्पत्ति, नतिजा र अग्रगामी सुधारका सन्देशबारे साझा बुझाइ ।
ख। लोकतान्त्रिक मान्यता, समुन्नति र राष्ट्रियताको प्रवर्द्धनका लागि वृहत् एकता र सहकार्यको रेखांकन ।
ग। उन्नत रूपान्तरणका लागि आसन्न प्रतिनिधिसभा निर्वाचनलाई रणनीतिक साझेदारीको अवसर र उपयोगिताबारेको सम्भाव्यता ।
२। मतदाता नामावली दर्ता सहजीकरण अभियान संचालन गर्ने ।
निर्वाचन आयोगले मतदाता नामावली दर्ताको लागि यही कार्तिक मसान्तसम्मको लागि समयसीमा तोकेको र देशभर धेरै नवयुवा लगाएत नागरिकहरुको मतदाता नामावलीमा दर्ता नभएको अवस्थालाई ध्यानमा राख्दै मतदाता नामावली दर्ताको लागि नवयुवा एवं आम नागरिकलाई सहजीकरण गर्नका लागि पार्टी संयन्त्र रहेको हरेक वडा, पालिका, निर्वाचन क्षेत्र र जिल्ला तहमा मतदाता नामावली दर्ता सहजीकरण अभियान यही कार्तिक ११ देखि २५ गते सम्म संचालन गर्ने निर्णय गरियो । यस अभियानको संयोजन पार्टीको केन्द्रीय अभियान तथा प्रचारप्रसार विभागसँगको समन्वयमा पार्टी सचिवालय सदस्य श्री गणेश पराजुलीले गर्ने ।
३। पार्टीको गतिविधि नियमित संचालन गर्ने । विशेषतः पार्टीको वडा, पालिका अधिवेशन सुचारु गर्ने, पार्टीको जिल्ला तह एवं प्रवासमा समेत प्रशिक्षण संचालन गर्ने साथै पार्टीको हरेक तहले आफ्नो तहरभुगोलमा विभिन्न अभियानहरु संचालन गर्न निर्देश गर्ने निर्णय गरियो ।
४। आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन केन्द्रीत तयारीहरुको क्रममा समानुपातिक तर्फको उम्मेदवारी आव्हान गर्नका लागि आवश्यक दस्तावेजहरुबारे छलफल गरियो । २०८२ कार्तिक २२ भित्र समानुपातिक तर्फको उम्मेदवारी आव्हान गर्ने निर्णय गरियो ।



