फाइल तस्बिर
कैलाली- टीकापुर नगरपालिका-४ का बन्धुराम डगौरा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई पर्खेर बसेका छन्।
चाडपर्वको समयमा घरायसी आर्थिक जोहो गर्न केही धान प्रतिक्विन्टल दुई हजार ५०० मा बिक्री गरेका उनी बाँकी धान सरकारले तोकेको समर्थन मूल्यमा बिक्री गर्नका लागि खाद्यलाई पर्खेर बसेका हुन्।
‘घर खर्चका लागि सस्तोमा पनि धान बिक्री नगरी नहुने भएपछि १० क्विन्टल धान झण्डै एक हजार सस्तोमा बिक्री गर्नुपर्यो,’ उनी भन्छन्, ‘खाद्यले समयमा किसानको धान खरिद गरेको भए मैले १० हजार घाटा खाएर धान बिक्री गर्नुपर्ने थिएन।’
यो पीडा बन्धुरामको मात्रै होइन । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले समयमा धान खरिद नगर्दा अधिकांश किसान मर्कामा परेका छन् । घरको आर्थिक जोहो गर्न र उत्पादन भएको धान राख्ने ठाउँ नहुँदा किसान सस्तोमा धान बिक्री गर्न बाध्य छन्।
अझै चाडपर्वको समयमा बढी खर्च चाहिने हुँदा किसानले बर्सेनि त्यसको जोहो धान बेचेरै गर्ने गरेका छन्।
‘३०/४० क्विन्टल धान हुन्छ, त्यो व्यवस्थापन गर्ने ठाउँ हुँदैन। बाध्यताले पनि सस्तोमा बिक्री गर्नैपर्यो,’ भजनी नगरपालिका-३ का श्रवण थारु भन्छन्, ‘अभावका बाबजुद उत्पादन भएको धान किसानले आफ्नो लागत नउठ्दा पनि बिक्री गर्नुपरिरहेको छ।’
भजनीकै अर्का किसान जयप्रसाद ढुंगानाले सरकारले किसानको पीडा कहिल्यै नबुझेको गुनासो गरे। उनले चैते धान बिक्री गर्दा होस् वा बर्खे धान बिक्री गर्दा सरकारले आफैँ तोकेको समर्थन मूल्यमा समयमा धान खरिद गर्न नसकेको बताए।
‘आन्दोलन नगरी अधिकार पाइँदैन। तर किसानले प्रायः आन्दोलन गर्न जानेका हुँदैनन्,’ उनी भन्छन्, ‘त्यसैले पनि होला किसानको समस्या न खेती लगाउँदा सम्बोधन हुन्छ, न उत्पादन भएको वस्तु बिक्री गर्दा।’
किसानका समस्या जबसम्म राज्यले सम्बोधन गर्दैन तबसम्म किसान आत्मनिर्भर बन्न नसक्ने उनको बुझाइ छ। कैयौँ किसानले खाद्य संस्थानको पर्खाइमा धान नै भित्र्याएका छैनन्। खेतमै धान थुपारेर केही किसानले खाद्यको बाटो कुरिरहेका छन्।
सरकारले यसवर्ष मोटो धानको मूल्य प्रतिक्विन्टल तीन हजार ४६३.८१ रुपैयाँ र मध्यम धानको मूल्य तीन हजार ६२८.३३ रुपैयाँ तोकेको छ। रासस



