फाइल तस्बिर
कञ्चनपुर- रैथाने धानका जातमध्येकै स्वादिलो र सांस्कृतिक मूल्य बोकेको अनदी धान यहाँ लोपोन्मुख अवस्थामा पुगेको छ। बढी फल्ने हाइब्रिड र उन्नत जातका धानको खेतीलाई किसानले बढावा दिन थालेपछि रैथाने अनदी धान लोपोन्मुख अवस्थामा पुगेको हो।
सिमलफाँटाका किसान धनबहादुर चौधरी ढिक्कीमा कुटेको अनदी धानको च्युराको मिठो स्वाद अझै बिर्सन नसकिने बताउँछन्। ‘सानो उमेरमा चुलोमो अनदीको धान भुटेर ढिकिमा कुटेर तयार गरिएको च्युरा खाएको सम्झना अझै ताजा छ’, उनी भन्छन्, ‘अनदीको च्युरा निकै मिठो हुन्थ्यो, स्कुल जादा खल्तीभरी त्यही च्युरा भरेर खादै पुग्ने गर्दथ्यौँं, ती दिन अब सम्झनामा मात्रै बाँकी रहे ।’ बढी उत्पादन दिने हाइब्रिड र उन्नत जातका धानको आकर्षणमा परेर किसानले अहिले अनदी धानकोखेती छाडेको उनी बताउँछन्।
थारु समुदायमा अटवारी पर्वका वेला भगवानलाई अर्पण गरिने रोटी प्रायः अनदी धानकै चामलबाट बनाइने परदेशी डगौराले बताए। ‘मिसौला, च्युरा, रोटी जस्ता परिकारमा यसको प्रयोग हुने गर्दथ्यो, अनदीको चामलको जाँड निकै मिठो हुने भएकाले सबै भन्दा बढी रुचाइन्थ्यो, अब यो धानको बीउ पाउनसमेत मुस्किल भइसक्यो’, उनले भने।’ भात लसिलो र स्वादिलो हुने भएकाले बाफमा पकाएर खाने चलन रहेको उनले बताए।
जोनापुरका किसान रामप्रसाद चौधरीका अनुसार अनदी धान थोरै पानीमा पनि सुख्खा क्षेत्रमा राम्रो उत्पादन दिने जात हो । ‘यो धान हामीले बीउको रूपमा जोगाउन सके, अहिलेको जलवायु परिवर्तनका चुनौतीबीच पनि खेतीका लागि उपयुक्त हुनसक्छ’, उनले भने।
अनदीसहित थुप्रै रैथाने प्रजातिका धान हराउँदै गएका छन् । रैथाने प्रजातीका निमै, सिमटारी, राइमनुवा, अञ्जना, मन्सुली, थापाचिनी, चाइना लगायतका थुप्रै धान हराउँदै गएका छन्। पछिल्ला वर्षमा बजारमुखी कृषि प्रणाली र उच्च उत्पादनमुखी प्रवृत्तिले मौलिक बीउलाई विस्थापन गरेको कृष्णपुर नगरपालिकाको कृषि शाखाका प्रमुख लालबहादुर धामीले बताए।
‘यसले जैविक विविधता मात्र होइन, नेपाली समाजको परम्परागत खानपान र संस्कृतिलाईसमेत प्रभावित बनाएको छ’ उनले भने, ‘रैथाने बीउको संरक्षणमा जोड नदिए यो जात सधैँका लागि हराउने खतरा छ, स्थानीय तह, कृषि अनुसन्धान केन्द्र र समुदायबीच सहकार्य गरी बीउ संकलन, संरक्षण र पुनःउत्पादनको अभियान चलाउनुपर्ने देखिन्छ।’
अनदीलगायत रैथाने धानको बिउ खोजी, संकलन गरी किसानलाई पुनःखेती सुरु गर्न उत्प्रेरित गर्नुपर्ने उनले बताए। रासस



