बिहारमा पुस्तागत प्रतिस्पर्धा : ‘पल्टुराम’ छविका नितिशलाई तेजस्वीले दिन सक्लान् चुनौती?

हिमाल प्रेस ९ कार्तिक २०८२ २०:०१
14
SHARES
बिहारमा पुस्तागत प्रतिस्पर्धा : ‘पल्टुराम’ छविका नितिशलाई तेजस्वीले दिन सक्लान् चुनौती? तस्बिरः एएनआई

काठमाडौँ- ‘जबसम्म समोसामा रहन्छ आलु, तबसम्म बिहारमा लालु’ भन्ने भाष्यलाई नितिश कुमारले चिरेका थिए। लालु यादवसँग ५० वर्षअघि राजनीतिमा सहकार्य र पछि प्रतिस्पर्धा गर्दै आएका नितिश अहिले उनै लालुको छोरा तेजस्वी यादवसँग प्रतिस्पर्धामा उत्रिएका छन्। बिहारको सुधारसँगै सत्तामा रहिरहन जता पनि पल्टने हुनाले विपक्षी दलका नेताले नितिशको नाम पनि ‘पल्टुराम’ राखेका छन्।

उनीहरूले नितिशलाई ‘पल्टुराम’ भनेर सार्वजनिक रुपमै आलोचना गर्छन्। अर्को साता अर्थात् नोभेम्बर ६ (कात्तिक २०) मा बिहारमा पहिलो चरणको निर्वाचन हुँदैछ। २४३ सिट रहेको बिहारको यो निर्वाचनलाई सत्तारुढ गठबन्धनले निकै महत्त्वका साथ लिएको छ। विश्वमा युवाहरूको लहर चलिरहेको अवस्था र सीमा जोडिएको बंगलादेश होस् या नेपाल दुवैमा युवाहरूले गरेको विद्रोह र सत्ता उलटपलट भएको छ। यही बीचमा बिहारमा निर्वाचन हुँदैछ, जहाँ युवा पुस्ता र हजुरबुबा पुस्ताबीच मुख्य पदका लागि प्रतिस्पर्धा पनि हुँदैछ।

७४ वर्षीय नितिश र ३५ वर्षीय तेजस्वीबीच मुख्यमन्त्रीको प्रतिस्पर्धा बिहारमा हुँदैछ। नितिश भाजपा (भारतीय जनता पार्टी)को सहकार्यमा निर्वाचनमा होमिएर १० औँ पटक मुख्यमन्त्रीको आकांक्षी भएका छन् भने तेजस्वीले कंग्रेस र भारतीय कम्युनिस्ट पार्टीहरू सामेलको महागठबन्धन बनाएका छन्। नितिश जनता दल युनाइटेडका नेता हुन् भने तेजस्वी राष्ट्रिय जनता दल (आरजेडी) का नेता हुन्।

यसअघिको बिहार विधानसभामा आरजेडी ७५ सिट जितेर सबभन्दा ठूलो दल बनेको थियो। एक सिट कम अर्थात् ७४ सिट जितेर दोस्रो बनेको थियो, भाजपा। नितिशको दल युनाइटेडले ४३ सिट ल्याएको थियो। तर उनले पहिलो ठूलो र दोस्रो ठूलोसँग आलोपालो गरेर सरकार बनाउँदै पुरै कार्यकाल आफू नै केन्द्रमा रहे। आफ्नो पक्षधर नै फेरेर लामो समय सत्तामा रहेको हुनाले पनि उनलाई आलोचना गरेर बिहारमा ‘पल्टुराम’ पगरी पहिराएका हुन्।

त्यहाँ कतिपयले माओवादी नेता पुष्पकमल दाहालको चरित्रसँग भनौँ या २०६२/६३ अघि ५० को दशकको राष्ट्रिय प्रजातन्त्र पार्टीको शैलीसँग पनि नितिशको राजनीतिक शैलीलाई दाँजिएको छ। तर यहाँ शैली त्यो भए पनि नितिशले जति काम गरेका छैनन् तर बिहारमा नितिशले काम भने मस्त गराए। नितिश यस्तै पल्टी मारेर नै अहिलेसम्म बिहारको राजनीतिको केन्द्रमा रहेका हुन्। तर उनी यसपटक भने झस्किएका छन्।

उनलाई टक्कर दिइरहेका युवा नेता तेजस्वी त्यहाँका युवा मतदातासँग निकै लोकप्रिय रहेका कारण पनि नितिश झस्किएका हुन्। उनी १० वर्ष अघि नै बिहारको उपमुख्य मन्त्री बनिसकेका युवा हुन्। नितिशको राज अन्त्य गर्न तेजस्वी लागेका छन् भने युवालाई नेतृत्वमा आउन नदिने सोचमा नितिश रहेको देखिन्छ। तर युवाहरूले भोटर लिस्टमा कतिपयलाई बन्देज गरेको हुन सक्ने भन्दै त्यसको विरोध पनि गरेका थिए। यसले नितिश अलिक बलियो रहेको अनुमान केहीको भए पनि युवापुस्ताले नितिशलाई नभई तेजस्वीलाई रुचाएको देखिन्छ।

बिहारमा १० पटक मुख्यमन्त्री हुने आशा नितिशमा छ भने गफ दिएर मुख्यमन्त्री भइरहने अवस्था नभएको भन्दै युवाहरूले नितिशको स्थानमा तेजस्वीलाई राख्न खोजेको धारणाहरू आइरहेका छन्। नयाँ युवा मुख्यमन्त्री कि हजुरबा पुस्ता अनुभवी मुख्यमन्त्री भन्ने बहस बिहारमा चलिरहेको छ।

नेपालको कुल जनसंख्या भन्दा दोब्बर बढी अर्थात् ७ करोड ४२ लाख मतदाता बिहारमा छन्। बिहार विधानसभा दुई चरणमा हुने भनिएको छ। नोभेम्बर ६ मा पहिलो चरण र नोभेम्बर ११ (कात्तिक २५ गते) मा दोस्रो चरणको निर्वाचन हुनेछ भने त्यसको तीन दिनपछि नै मतगणना हुनेछ।

अघिल्लो विधानसभाको ठूलो दल रहेको आरजेडीले आसन्न निर्वाचनको १४३ स्थानमा आफ्नो उम्मेदवारी दिएको छ भने उससँगै गठबन्धनमा रहेको कंग्रेसले ६१, भारतीय कम्युनिस्टले ९, कम्युनिस्ट पार्टी अफ इन्डिया मार्क्सवादीले ४, कम्युनिस्ट पार्टी अफ इन्डिया मालेले २० र विकासशील इन्सान पार्टीले १५ सिटमा उम्मेदवारी दिएका छन्। यो तेजस्वीलाई मुख्यमन्त्री मानेर प्रतिस्पर्धामा गएको समूह हो।

एनडीयू गठबन्धनबाट भारतीय जनता पार्टी र जनता दल (युनाइटेड)ले मिलेर १०१ सिटमा उम्मेदवारी दिएका छन्। उनीहरूलाई समर्थन गर्ने लोक जनशक्ति पार्टी (राम विलास) ले २९, राष्ट्रिय लोक मोर्चाले ६ र हिन्दुस्तानी अवाम मोर्चाले ६ सिटमा उम्मेदवारी दिएको सार्वजनिक भएको छ।

नितिश भर्सेस तेजस्वी

१० औँ पटक मुख्यमन्त्रीको अभिलाषासहित निर्वाचनमा होमिएका नितिशले सरकारको जागिर छाडेर राजनीतिमा लागेका थिए। इलेक्ट्रिकल इन्जिनियर रहेका उनी लालुसँगै जयप्रकाश नारायण र राममनोहर लोहियाको समाजवादी आन्दोलनमा सहभागि थिए। लालुले नितिशलाई पछि पारे र लालु नै बिहारको राजनीतिको केन्द्रमा रहँदै आए। पिछडा वर्गको हितमा काम गर्ने व्यक्तिको रूपमा लालू परिचित हुँदै गए।

यादवहरू बिहारमा पिछडिएका थिए। त्यही कारण यादवको मतले उनी नै सरकारमा रहे। लामो समय बिहारमा लालुले राज गरे। नितिश भने जेल परे। विपक्षीलाई दबाउन १९७५ मा इन्दिरा गान्धिले संकटकाल लगाएकी थिइन् बिहारमा। संकटकालपछि कंग्रेस विरोधी लहड नै चल्यो। त्यो भिडमा लालु पनि लोकसभा सदस्य बने।

जयप्रकाश नारायणले सन् १९७० को मध्यदेखि चलाएको समाजवादी आन्दोलनमा विद्यार्थी राजनीतिबाटै नितिश सहभागी थिए। उनले लालुसँग पनि सहयात्रा गरे। लालु-नितिश दुवै जयप्रकाश र राममनोहर लोहियाका अनुयायी थिए। उनीहरूले सामाजिक न्याय र पिछडिएका वर्ग-समुदायको मुद्दा उठाउँदै समाजवादको आवाजलाई बुलन्द बनाएका थिए।

१९७० दशकमा बिहारमा चलेको समाजवादी आन्दोलनले दशकौंदेखि पिछडिएको समुदायको शासनको जग बस्यो, जुन अहिलेसम्म टिकिरहेको छ। यादवहरूको नेतृत्व लालुले गरे भने कुर्मीहरूको नितिशले। यादव बहुसंख्यक भएका कारण लामो समय लालु बिहारमा राज गर्न सफल भए। उनी १९९० मा बिहारको राज्यमन्त्री हुँदा नितेश पनि केन्द्र सरकारको राज्यमन्त्री भएका थिए उनी सात महिनामा नै सरकार ढलेकाले पछि परे।

यता बिहारमा राममन्दिर बनाउन गुजरातबाट अयोध्यासम्म रथयात्रा गरेर आएका लालकृष्ण आडवानीलाई गिरफ्तार गरेर लालु भारतभर चर्चित भए। जसले गर्दा उनले नितिशलाई पनि बिर्से। सुरुमा एकै दलमा रहेका नितिश पार्टीमै पछि परेपछि उनी केही समय त्यही पार्टीमा रहे तर पछि उनले आफ्नो अर्को दल खोलेर पुनः राजनीतिमा सक्रिय भए।

जतिबेला लालु र उनका नातेदारहरू भ्रष्टाचारमा परिसकेका थिए। जनता दल फुटाएर आरजेडी बनाएका लालुले तेस्रो कार्यकालको लागि अर्थात् २००० को विधानसभा निर्वाचनमा बहुमत ल्याउन सकेनन्। त्यो समयमा नितिश पहिलो पटक बिहारका मुख्यमन्त्री बने। संसदमा प्रस्तुत हुँदा बहुमत पुर्‍याउन नसकेपछि एक सातामा उनको सरकार ढल्यो। अनि उनी २००५ को विधानसभामा भाजपासँग मिलेर उनले चुनाव जिते अनि दोस्रोपटक मुख्य मन्त्री बने। त्यस यता उनी नै बिहारको मुख्यमन्त्री छन्।

बिहारको विकास मात्र होइन अपराध नियन्त्रणमा गरेको कार्य प्रशंसनीय छ। उनले बिहारमा सुशासन कायम गर्दै विकासमा गरेको कार्यको भारतभर चर्चा हुन थाल्यो। जसले गर्दा सन् २०१० को विधानसभा चुनावमा झन् धेरै बहुमतका साथ विजयी भए। तेस्रो पटक मुख्यमन्त्री भएपछि पनि उनले सुशासनलाई निरन्तरता दिए।

सन् २०१४ को लोकसभा निर्वाचनअघि नितिशले मोदीको विरोध मात्र गरेनन् भाजपासँगको गठबन्धन नै छाडेका थिए। त्यो निर्वाचनमा उनको दल नराम्ररी पछारियो। त्यसको जिम्मेवारी लिएर मुख्यमन्त्री छाडे। सन् २०१५ को विधानसभा चुनावअघि उनी फेरि चौथो पटक मुख्यमन्त्रीका रूपमा फर्के। अनि उनले लालुसँग पुनः हात मिलाएर कंग्रेस सहितसँगको महागठबन्धन गरे। चुनाव पनि जित्दै नितिश पाँचौं पटक मुख्यमन्त्री बने।

हुन त त्यो समयमा लालुको आरजेडी सबभन्दा ठूलो दल बनेको थियो तर पनि नितिश नै मुख्यमन्त्री भए। त्यति बेला लालु यादवका छोरा तेजस्वी यादव उपमुख्यमन्त्री भएका थिए। सन् २०१७ मा तेजस्वीलाई भ्रष्टाचारको आरोप लागेपछि नितिशले उनलाई राजीनामा दिन लगाएका थिए तर उनले मानेनन्। त्यसपछि महागठबन्धन छोडेर राजीनामा दिए र सँगै भाजपाको समर्थनमा पुनः छैटौँपटक मुख्यमन्त्री बने। अनि सन् २०२० को विधानसभा चुनाव भाजपा गठबन्धनले जितेपछि नितिशको दल तेस्रो ठूलो मात्र भयो। तैपनि उनी नै मुख्यमन्त्री भए। २०२२ को अन्त्यतिर भाजपा गठबन्धन छाडे उनले। र, लालुको समर्थनमा आठौँपटक मुख्यमन्त्री बने। फेरि लालु छाडेर भाजपासँग सहकार्य गरेर नवौँपटक मुख्यमन्त्री बने। यही कारण उनलाई पल्टुराम भनिएको हो। कतिपयले नितिश कुमार होइन उनको नाम कुर्सीकुमार भएको पनि भन्छन्। यो पल्टुरामको दर्जा भाजपाका तत्कालीन अध्यक्ष अमित शाहले नै दिएका थिए।

अहिले नितिशसँग प्रतिस्पर्धा गर्न लागेका तेजस्वीसँग राजनीतिको लामो अनुभव त छैन। तर उनी विधानसभाको निर्वाचनमा उभिन लागेको तेस्रो पटक हो भने मुख्यमन्त्रीको दाबेदार दोस्रोपटक हो।

सन् २०१० बाट राजनीतिमा लागेका तेजस्वीको सुरुमा निर्वाचन क्षेत्र पनि थिएन। उनी आरजेडीको प्रचारमा मात्र हिँड्थे। सन् २०१५ देखि उनले राघोपुर निर्वाचन क्षेत्रबाट बिहार विधानसभा सदस्य निर्वाचन लडे र सफल पनि भए।

सन् २०१८ मा लालु यादव भ्रष्टाचार मुद्दामा जेल परेपछि तेजस्वीले आरजेडीको नेतृत्व लिएका हुन्। गाईवस्तुको दाना खरिदमा भ्रष्टाचार गरेको आरोपमा जेल परेका लालु सन् २०२१ अप्रिलमा जमानत छुटिसकेका छन्।

यसबीच सन् २०२० को बिहार विधानसभा चुनावमा तेजस्वी महागठबन्धनबाट मुख्यमन्त्री उम्मेदवारका रूपमा मैदानमा ओर्लिएका थिए। उनको दल ठूलो त बन्यो तर सरकार बनाउन सक्ने हैसियत बनाएन जसले गर्दा नितिश नै मुख्यमन्त्री बने।

नितिशले तेजस्वी र भाजपा दुवैलाई आलोपालो उपयोग गरेर नेतृत्वमा रहे। तर तेजस्वी लगातार विपक्षी दलको नेताको रूपमा दरिए। जसले उनलाई राजनीतिमा केही सिकाएको पनि हुन सक्छ।

उपमुख्यमन्त्री बनिसकेका तेजस्वी अहिले मुख्यमन्त्रीको बलियो दाबेदारको रूपमा रहेका छन्। उनी अहिले एक अनुभवी विपक्षी नेताका रूपमा चुनावी मैदानमा प्रस्तुत भइरहेका छन्। उनी युवा मतदातामाझ लोकप्रिय पनि छन्। उनले बेरोजगारी, भ्रष्टाचार र सामाजिक असमानता लगातयका विषयलाई मुख्य एजेण्डा बनाएकाले उनलाई बलियो दाबेदार मानिएको छ।

प्रकाशित: ९ कार्तिक २०८२ २०:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast