बुटवल- गौतमबुद्ध विमानस्थलमा आज (आइतबार) थाई एयर एसियाको जहाज अवतरण भएको छ। आज मध्याह्न १२:१५ मा अवरण हुने भनिएपनि १२:४८ मा १७ यात्रु लिएर विमानस्थल भैरहवा अवतरण गरेको हो । एयरबस ३२० को न्यारोवडीको जहाज अवतरण भएसँगै गत अप्रिलदेखि रोकिएको अन्तर्राष्ट्रिय उडान फेरि सक्रिय हुने अपेक्षा गरिएको छ।
हप्ताको दुई दिन थाई एयर एसियाको उडान तालिका अनुसार यो सिजनमा पुन उडान सुरु भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताए। उनका अनुसार आईतबार र बुधबार दुई दिन उडान हुनेछ। जहाजले आजै १६२ यात्रु लिएर थाईल्याण्ड उडनेछ ।
गत अप्रिलमा त्रिभुवन विमानस्थल मर्मतसमेत भएकाले भैरहवा विमानस्थलमा चाप बढेको थियो। त्यतिबेला दैनिक चारवटा उडान भएका थिए। पाँच महिनामा दुई सय बढी उडानबाट ७ हजार यात्रु आवतजावत गरेको विमानस्थलले जनाएको छ। त्यसयता केही चार्टर उडान मात्रै भएका छन्।



