इटहरी- सुनसरीमा बिहीबार छुट्टाछुट्टै स्थानमा भएका मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। इटहरी उपमहानगरपालिका-११स्थित भित्री सडकमा बिहीबार राति करिब ९:१० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३७ प ३९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक अन्दाजी २५ वर्षीय राम सरदारको मृत्यु भएको हो। इटहरी-८ निवासी उनलाई उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएको थियो।
अस्पताल पुर्याएपछि चिकित्सकले सरदारको मृत्यु भएको प्रहरीले पुष्टि गरेका छन्। मृतकको शव हाल सोही अस्पतालमा राखिएको छ भने मोटरसाइकल प्रहरी नियन्त्रणमा छ।
यसैगरी, बिहीबार दिउँसो ४:४० बजेतिर धरान उपमहानगरपालिका-१७ सर्दुपुलमा मोटरसाइकल दुर्घटना भएको छ। प्रदेश १-०२-०५० प ५२२६ नम्बरको मोटरसाइकल चतराबाट धरानतर्फ आउँदै गर्दा अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको हो।
दुर्घटनामा उदयपुरको चौदण्डीगढी नगरपालिका-४ निवासी ५२ वर्षीय नगेन्द्रप्रसाद राईको मृत्यु भएको हो। गम्भीर घाइते भएका उनको उपचारको क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुवै घटनाबारे थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ।



