भट्टराईको आह्वान- अग्रगामी, लोकतान्त्रिक शक्तिहरू एकजुट भई नयाँ राजनीतिक विकल्प तयार गरौँ

हिमाल प्रेस ७ कार्तिक २०८२ ७:२१ | Friday, October 24, 2025
2
SHARE
भट्टराईको आह्वान- अग्रगामी, लोकतान्त्रिक शक्तिहरू एकजुट भई नयाँ राजनीतिक विकल्प तयार गरौँ

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का पूर्वअध्यक्ष डा.बाबुराम भट्टराईले नेपालको वर्तमान संक्रमणकालीन अवस्थालाई ‘पुरानो मरेको तर नयाँ नजन्मिएको राक्षसहरूको काल’ भनेर व्याख्या गर्दै सबैले यो अवस्थालाई गम्भीर रूपमा लिनुपर्ने बताएका छन्।

हालको राजनीतिक अवस्थाबारे शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा व्यक्त गर्दै डा.भट्टराईले प्रसिद्ध प्रगतिशील चिन्तक आन्तोनियो ग्राम्सीको भनाइ उद्धृत गर्दै भारतीय पत्रकार भारत भूषणले दिएको उक्त उपमा नेपालको यथार्थसँग मेल खाने बताए।

उनका अनुसार नेपालीहरूले अत्यधिक हीनताबोध पाल्नु आवश्यक छैन किनभने देशले लामो समयको बलिदानीपूर्ण संघर्षपछि संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्था स्थापना गर्न सफल भएको छ।

‘हामीले वि.सं. २००७ देखि २०७२ सम्मको यात्रा रक्तरञ्जित संघर्षका माध्यमबाट पूरा गरेका छौं। अब त्यसको जगमा टेकेर सुशासन र समृद्धिको गजुर राख्ने समय आएको छ,’ भट्टराईले लेखेका छन्।

उनले हालको जेनजी आन्दोलनलाई पनि सशक्त जनआवाजको रूपमा व्याख्या गर्दै भने, ‘देशमा फैलिएका भ्रष्टाचारका धमिरामाथि जेनजी युवाहरूको विद्रोहले जबर्जस्त मुक्का प्रहार गरेको छ।’ भट्टराईले सबै अग्रगामी, देशभक्त र लोकतान्त्रिक शक्तिहरूलाई एकजुट भई भरपर्दो नयाँ राजनीतिक विकल्प निर्माण गर्न आह्वान गरेका छन्।

उनका अनुसार यो अभियानमा जेनजी आन्दोलनका युवाहरू, नयाँ तथा वैकल्पिक राजनीतिक शक्ति, पुराना दलभित्रका सुधारवादी पक्ष र नागरिक अगुवाहरू सबै सक्रिय हुन आवश्यक छ। ‘सुशासित र समृद्ध नेपाल हाम्रै पालामा बन्छ र बन्नै पर्छ,’ भट्टराईले भने।

प्रकाशित: ७ कार्तिक २०८२ ७:२१ | Friday, October 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast