नेपाल प्रहरी केनाइन कार्यालयमा कुकुर पूजा, दौडमा ‘टाइगर’ पहिलो

हिमाल प्रेस ३ कार्तिक २०८२ १४:५५ | Monday, October 20, 2025
नेपाल प्रहरी केनाइन कार्यालयमा कुकुर पूजा, दौडमा ‘टाइगर’ पहिलो

काठमाडौँ- यमपञ्चकको दोस्रो दिन अर्थात् कुकुर तिहारका अवसरमा नेपाल प्रहरी केनाइन कार्यालय महाराजगन्जमा आज (सोमबार) कुकुर पूजा सम्पन्न भएको छ।

त्यसक्रममा केनाइन कार्यालयका प्रमुख प्राविधिक प्रहरी उपरीक्षक डा. रामचन्द्र सत्यालले कुकुरको प्रतिमामा माल्यार्पण गर्नुका साथै कार्यालयमा रहेका विभिन्न जातका कुकुरको पूजा गरेका थिए।

यस वर्षको सर्वोत्कृष्ट प्रहरी कुकुर ‘घुङ्ग्रु’ तथा उत्कृष्ट अपराध अनुसन्धान र आज (सोमबार) भएको दौड प्रतियोगितामा प्रथम हुन सफल प्रहरी कुकुर ‘टाइगर’ पुरस्कृत भएको छ।

सो क्रममा प्रहरी उपरीक्षक सत्यालले अपराध अनुसन्धान तथा सुरक्षा कार्यमा नेपाल प्रहरीको केनाइन सेवाले खेलेको महत्त्वपूर्ण भूमिकाको चर्चा गर्दै आगामी दिनमा केनाइन सेवालाई थप प्रभावकारी बनाउन व्यावसायिक जनशक्ति तथा भौतिक स्रोत साधनयुक्त बनाउँदै लैजाने बताए।

कार्यक्रममा उक्त कार्यालयका प्रहरी कर्मचारी र प्रहरी कुकुरहरुले पुष्प वर्षा, आज्ञापालन, बाधापार र दौड प्रतियोगिता लगायतका विभिन्न मनोरञ्जनात्मक प्रदर्शनीहरू गरेका थिए। नेपाल प्रहरीको अनुसन्धान प्रक्रियालाई तथ्यपरक र प्रमाणमुखी बनाउने उद्देश्यकासाथ विगत लामो समयदेखि अपराध अनुसन्धान तथा खोज कार्यमा तालिम प्राप्त कुकुरहरुको प्रयोग हुँदै आएको छ।

प्रकाशित: ३ कार्तिक २०८२ १४:५५ | Monday, October 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast