गुण्डुको सयपत्री र मखमली फूल-मालाको मूल्य एक हजार

हिमाल प्रेस ३ कार्तिक २०८२ १३:१५
10
SHARES
गुण्डुको सयपत्री र मखमली फूल-मालाको मूल्य एक हजार भक्तपुरको सूर्यविनायक नगरपालिका-७ गुण्डुमा बिक्री गर्न उनेर राखिएको मखमली फूलको माला। तस्बिर : चन्द्रकला क्षेत्री/रासस

भक्तपुर- तिहार सुरु भएसँगै बारीदेखि बजारसम्म मखमली र सयपत्री फूलका माला मूल्य तेब्बर दरमा वृद्धि भएको छ। आज लक्ष्मी पूजाको दिन सयपत्री फूल र माला तेब्बरभन्दा बढी मूल्यमा बिक्री भइरहेको छ। सबभन्दा बढी फूल उत्पादन हुने भक्तपुरको सूर्यविनायक नगरपालिका-७ गुण्डुमा किसानले एकसाता अगाडि ३०० रुपैयाँ प्रतिकिलो बिक्री गरेको सयपत्री फूल आज ७०० रुपैयाँमा बिक्री गरेका छन्। व्यापारीले बजारमा त्यही फूललाई एक हजार रुपैयाँसम्ममा बिक्री गरेका छन्।

एक किलो सयपत्री फूलको माला बजारमा एक हजार ५०० रुपैयाँमा व्यापारीले बिक्री गरिरहेको मध्यपुरथिमि नगरपालिका-५ संगम कोलोनी निवासी प्रकाश झाले बताए। उनले आज एउटा सयपत्रीको माला एक हजार ५०० रुपैयाँका दरले खरिद गरेको जानकारी दिए।

राधेराधे सडक पेटीमा गाडामा सयपत्री फूल र माला बिक्री गरेकी व्यापारी प्रमिला लामाले हिजो आइतबारदेखि किसानले फूलको मूल्य वृद्धि गरेकाले महँगोमा बिक्री गर्नुपरेको बताइन्। उनले काभ्रेपलाञ्चोक, सिन्धुली, सिन्धुपाल्चोक, पाँचखाललगायत क्षेत्रबाट खुला रूपमा गरिएको फूलखेतीको फूल एक साता अगाडि किलोको ३०० रुपैयाँमा बिक्री गरेकोमा आइतबार ६०० रुपैयाँमा आइपुगेकाले महँगोमा बिक्री गर्नुपरेको बताइन्।

खुला रूपमा खेती गरेको सयपत्री फूल किलोको ८०० रुपैयाँमा र भक्तपुरमा टनेलमा उत्पादन गरेका फूल किलोको एक हजार ३०० रुपैयाँमा आज बिक्री भएको छ। भक्तपुरमा टनेलमा उत्पादन भएका सयपत्री फूल साता दिनसम्म नबिग्रने भएकाले महँगो भएको बताउँदै उनले मखमली फूलको प्रतिमाला १००० रुपैयाँमा बिक्री गरेको जानकारी दिइन्।

एक साता अगाडि किसानले घरघमा आएका व्यापारीलाई २५ देखि ३० रुपैयाँमा बिक्री गरेको मखमली फूलको माला आइतबारबाट किसानले नै ४० देखि ४५ रुपैयाँमा बिक्री गरेकाले व्यापारीले १०० रुपैयाँसम्ममा बिक्री गरेको उनको भनाइ छ। दुई दिनमै फूल र मालाको मूल्य तेब्बर रूपमा वृद्धि भएको उनले बताइन्।

गुण्डुको फूल गुणस्तरीय हुने भएकाले माग बढी रहेको र फूल किसानबाटै किलोको ४०० देखि ५०० रुपैयाँसम्ममा बिक्री भएको र बिचौलियाले फूल र माला बजार पुर्‍याउँदा उपभाक्तासम्म पुग्दा तेब्बरभन्दा बढीले मूल्य वृद्धि भएको उनको भनाइ छ।

पुष्प व्यवसायी अनिता बस्नेतले यसवर्ष गुण्डुबाट मात्रै करिब पाँच करोडको फूल तथा माला बिक्री भएको जानकारी दिइ्न्। उनले सयपत्री फूल र मखमली फूलको माला गरी यसवर्ष पाँच करोडभन्दा बढीको बिक्री भएको बताउँदै एउटै परिवारले एक लाखदेखि पाँच लाखसम्मको फूल तथा माला बिक्री गरेको बताइन्।

गुण्डुमा करिब ७०० रोपनी जग्गामा मखमली र करिब ३०० रोपनी जग्गामा सयपत्री फूलको खेती भइरहेको बताउँदै गुण्डुकै अर्का पुष्प व्यवसायी उर्मिला नगरकोटीले व्यापारी र बिचौलयाले गाउँमै आएर फूल र माला खदिमा प्रतिस्पर्धा भएपछि किसानले मूल्य बढाएको जानकारी दिइन्।

बजारमा फूल र मालासँगै लक्ष्मी पूजाको लागि आवश्यक मानिएको भोगटे र बिमिरोको मूल्य बढेको छ। भोगटे ६० रुपैयाँमा बिक्री हुँदै आएकोमा आज १५० रुपैयाँसम्ममा बिक्री भएको र बिमिरो ३० रुपैयाँमा बिक्री हुँदै आएकोमा आज १०० देखि १५० रुपैयाँमा बिक्री भइरहेको छ। बजारमा तिहारका लागि अत्यावश्यक मानिएको फूल, माला, भोगटे, बिमिरो, भाई मसला र फलफूलको मूल्य आकासिएपछि उपभोक्ता भने मारमा परेका छन्।

प्रकाशित: ३ कार्तिक २०८२ १३:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast