काभ्रेमा तिहार अवधिभर टिप्पर चलाउन नपाइने

हिमाल प्रेस २ कार्तिक २०८२ २१:१८
6
SHARES
काभ्रेमा तिहार अवधिभर टिप्पर चलाउन नपाइने

काभ्रेपलाञ्चोक- जिल्ला प्रशासन कार्यालयले तिहारभर जिल्लामा मालवाहक सवारीको साधन टिप्पर सञ्चालनमा रोक लगाएको छ। जिल्ला सुरक्षा समितिको आइतबारको निर्णयअनुसार जिल्लामा टिप्पर सञ्चालनमा रोक लगाएको जनाइएको छ।

समितिका अनुसार तिहार पर्वअन्तर्गत यही कात्तिक ३ गते बिहान ५ देखि ७ गते बिहान ७ बजेसम्म जिल्लाभर मालवाहक सवारीको साधन टिप्पर सञ्चालनमा रोक लगाएको हो। तिहारमा अन्य साधनका यात्रु तथा सर्वसाधारणको जीवन सुरक्षा, सडक दुर्घटना न्यूनीकरण र सहज आवागमन सुनिश्चित गर्न टिप्पर सञ्चालन रोक लगाइएको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताए।

उनका अनुसार यस अवधिभर टिप्पर सञ्चालन गरी सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को उल्लंघन गरेको पाइएमा कानुनबमोजिम कडा कारबाही गरिने छ। अत्यावश्यक सेवाका लागि प्रयोग हुने सवारीसाधनलाई भने यो नियम लागू नहुने जनाइएको छ।

काभ्रेपलाञ्चोकस्थित तीन राजमार्ग अरनिको, बिपी र हेलम्बु तथा पनौती–बनेपा सडकखण्डबाट दैनिक करिब दुई हजार ५०० टिप्पर सङ्घीय राजधानी काठमाडौँलगायतका स्थान आवतजावत गर्छन्। स्थानीय प्रशासनले दुई वर्षदेखि सर्वसाधारणको जीवन सुरक्षा, सडक दुर्घटना न्यूनीकरण र सहज आवागमनका लागि राति मात्रै सञ्चालन गर्न अनुमति दिँदै आएको थियो।

यसै गरी समितिले देउसी–भैलोलगायतका सांस्कृतिक कार्यक्रम मर्यादित, अनुशासित एवं व्यवस्थित ढंगले गर्न गराउन अनुरोध गर्दै राति ९ः३० बजेसम्म मात्र सञ्चालन गर्न आग्रह गरेको छ।

साथै चाडपर्वको यस अवसरमा शान्तिसुरक्षामा असर पर्नेगरी सार्वजनिक स्थानमा हो–हल्ला एवं झैझगडा गर्ने, मादक पदार्थ सेवन गरी पारिवारिक, सामाजिक तथा सार्वजनिक मर्यादा र शान्तिमा खलल गर्ने, कानुनविपरीत जुवातास, लङ्गुरबुर्जा खेल्ने–खेलाउने भुइँचम्पा, पटका, आतसबाजीजस्ता विपद् निम्त्याउने तथा वातावरण प्रदूषण हुने विस्फोटक एवं प्रज्वलनशील पदार्थको प्रयोग, ओसारपसार तथा बिक्रीबितरण गर्ने कार्य नगर्न/नगराउनसमेत समितिले अनुरोध गरेको छ।

प्रकाशित: २ कार्तिक २०८२ २१:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast