
भोजपुर- भोजपुरको पौवादुङमा गाउँपालिका-५ सानोदुम्माका युवा ठंगजीत राईले व्यावसायिक खुर्सानीखेतीबाट वार्षिक रु ५५ लाख आम्दानी गर्दै आएका छन्। आफ्नै गाउँमा कृषिकर्मबाट उद्यमी बन्ने लक्ष्यका साथ उनले ४२ रोपनी क्षेत्रमा करिब ३२ हजार बोट खुर्सानीखेती गरेका हुन्।
आफ्नै ठाउँमा कृषिकर्म गरेर उदाहरणीय बन्ने उद्देश्यले व्यावसायिक खुर्सानी खेतीमा जुटेको राईले बताए। करिब आठ वर्षअघिदेखि मौसमी र बेमौसमी दुवै प्रकारका खुर्सानीखेती गर्दै आएका उनी जिल्लाका परिचित खुर्सानी किसान हुन्।
‘खुर्सानीखेतीबाट वार्षिक रु ५५ देखि रु ६० लाखसम्म आम्दानी गर्छु’, किसान राईले भने,‘४२ रोपनी जग्गा भाडामा लिएर ३२ हजार हाराहारी बोट लगाएको छु। गत वर्ष पनि रु ५० लाख बढी आम्दानी भएको थियो।’
खुर्सानीखेतीका लागि उनले वार्षिक रु दुई लाख तिरेर ६५ रोपनी जग्गा भाडामा लिएको जानकारी दिए। यस वर्ष खेतीका लागि करिब रु १२ लाख लगानी गरेको जनाउँदै उनले युवामा विदेशप्रतिको मोह बढिरहेको समयमा आफूले भने आफ्नै बारीमा व्यावसायिक रूपमा कृषिकर्म गरिरहेको बताए।
विभिन्न तीन ठाउँमा जग्गा व्यवस्थापन गरेर खेती गर्दै आएका राईले हाल चार जनालाई रोजगारीसमेत दिएका छन्। सडक पहुँच राम्रो भएकाले उत्पादन भएको खुर्सानी घरबाटै बिक्री गर्न सहज भएको उनी बताउँछन्।
पौवादुङमामा उत्पादन भएको खुर्सानी धरान, इटहरी, विराटनगर, झापा र काठमाडौँसम्म बिक्रीका लागि पठाउने गरिएको गाउँपालिकाका उपाध्यक्ष ज्योत्सना राईले जानकारी दिइन्।
किसानलाई व्यावसायिक योजनाका आधारमा सहयोगका कार्यक्रम सञ्चालन भइरहेको गाउँपालिकाका अध्यक्ष किरण राईले बताए। ‘अकबरे खुर्सानी हाम्रो गाउँपालिकाको प्रमुख आम्दानीको स्रोत बनेको छ’, उनले भने,‘हामीले कृषि क्षेत्रमा लगानी बढाउँदै भूगोल सुहाउँदो खेतीमा जोड दिइरहेका छौँ।’