विश्वकप छनोटको ट्रफीका लागि अन्तिम खेलमा आज सामाओसँग भिड्दै नेपाल

हिमाल प्रेस ३१ असोज २०८२ ६:१४ | Friday, October 17, 2025
विश्वकप छनोटको ट्रफीका लागि अन्तिम खेलमा आज सामाओसँग भिड्दै नेपाल नेपाल राष्ट्रिय क्रिकेट टिम (पुरुष)। तस्बिर क्यान।

काठमाडौँ- ओमानमा जारी इस्ट एसिया प्यासिफिक क्वालिफायरको सुपर सिक्स चरणको अन्तिम खेलमा नेपाल आज सामोआसँग भिड्दैछ। यसअघि नै भारत र श्रीलंकामा हुने आगामी वर्षको आइसिसी टी–२० विश्वकपमा स्थान सुनिश्चित गरिसकेको नेपाल अब छनोटको उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रिँदैछ।

बुधबार राति बलियो टिम ओमानलाई ३८ रनले पराजित गरेपछि नेपालको उपाधि सम्भावना अझ प्रबल बनेको हो। सुपर सिक्समा नेपाल ८ अंकसहित शीर्ष स्थानमा रहेको छ। दोस्रो र तेस्रो स्थानमा रहेका यूएई र ओमानका ६–६ अंक छन्। यूएईले सबै खेल सकिसकेको छ भने ओमानले आजै जापानसँग अन्तिम खेल खेल्दैछ।

नेपालले आज सामोआलाई पराजित गर्न सके अपराजित रहँदै १० अंकसहित छनोटको उपाधि जित्नेछ। सुपर सिक्सबाट नेपालसँगै ओमान र यूएई विश्वकपका लागि छनोट भइसकेका छन्। नेपाल र ओमान दुई खेल अगावै विश्वकप पुगिसकेका हुन् भने जापान, कतार र सामोआ प्रतियोगिताबाट बाहिरिइसकेका छन्।

आजको खेल नेपालका लागि फाइनल समान महत्वको छ। शीर्षस्थानमा रहेको नेपालको लक्ष्य पहिलो पटक छनोटको उपाधि उचाल्ने रहेको कप्तान रोहित पौडेलले बताएका छन्। उनले ओमानमाथिको जितपछि विश्वकप खेल्ने सपना पूरा भएको उल्लेख गर्दै अब उपाधि जित्न चाहेको बताएका थिए।

नेपाल र सामोआबीचको खेल शुक्रबार दिउँसो ४:१५ बजे ओमानमै हुनेछ। नेपालले जिते उपाधि निश्चित हुनेछ। तर, नेपाल पराजित भई ओमानले जापानलाई हराएमा रनरेटका आधारमा उपाधि निर्धारण हुनेछ। यदि ओमान जापानसँग पराजित भयो भने सामोआसँगको खेलको नतिजा आउनु अघि नै नेपाल उपाधि विजेता बन्नेछ। जापान र ओमानबीचको खेल आज बिहान ११:४५ बजे सुरु हुँदैछ।

प्रकाशित: ३१ असोज २०८२ ६:१४ | Friday, October 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast