
काठमाडौँ- जेनजीका नाममा विभिन्न सरकारी कार्यालय गएर धम्क्याउने अर्जुनबहादुर शाही पक्राउ परेका छन्। उनलाई बुधबार साँझ काठमाडौंको कोटेश्वरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए ।
शाही विभिन्न आपराधिक मुद्दामा फरार देखिएकाले पक्राउ गरिएको भट्टराईले बताए । शाही ठगी र बैंकिङ कसुरको आरोपी रहेको खुलेको थियो । यसअघि पनि उनी पक्राउ परेका थिए ।
पत्रकार श्रीकृष्ण फुँयालले दिएको जाहेरीको आधारमा प्रहरी वृत्त महाराजगञ्जले उनी विरुद्धको अनुसन्धान अघि बढाएको थियो ।
महाराजगञ्ज वृत्तले शाहीलाई उपस्थित गराइदिन भन्दै वैदेशिक रोजगार विभागलाई २०८२ वैशाख ३० मा पत्राचार गरेको थियो । विभागले उनलाई वैदेशिक रोजगार ठगी मुद्दामा पक्राउ गरेर अनुसन्धान गरेको थियो । विभागमा दर्ता भएको मुद्दा टुङ्ग्याएर शाहीलाई प्रहरीमा उपस्थित गराइएको थियो ।
महाराजगञ्ज प्रहरीले अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयमार्फत् अदालतमा मुद्दा दर्ता गरेको थियो । बैंकिङ कसुर मुद्दामा शाही ३० हजार धरौटी बुझाएर छुटेका थिए । शाहीविरुद्ध प्रहरी वृत्त बौद्धले समेत बैंकिङ कसुर मुद्दा चलाएको थियो ।
शाहीले होमराज खपाङ्गी मगरसँग मिलेर रेड स्टार प्रोडक्सन एन्ड मिडिया हाउस चलाएका थिए । सो कम्पनीको तर्फबाट पत्रकार फुयाँललाई दिएको चेक साटिएन । चेक नसाटिएपछि फुँयालले बाउन्स गरेर प्रहरी वृत्त महाराजगञ्जमा जाहेरी दिएका थिए ।