
काठमाडौँ- गत भदौ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति एक दशमलव ८७ प्रतिशत रहेको छ।
नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो महिनाको तथ्यांकमा आधारित देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार भदौमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति एक दशमलव ३४ प्रतिशतले ऋणात्मक रहेको छ।
गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ७० प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः पाँच दशमलव ०६ प्रतिशत र तीन दशमलव १९ प्रतिशत थियो।
गत भदौ महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ११ दशमलव ०९ प्रतिशत, गैरमदिराजन्य पेय पदार्थको तीन दशमलव ९७ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको दुई दशमलव ६६ प्रतिशतले बढेको छ। तरकारी उप-समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १२ दशमलव ७४ प्रतिशत, मरमसलाको ६ दशमलव ३१ प्रतिशत र दाल तथा गेडागुडीको तीन दशमलव ५८ प्रतिशतले घटेको छ।
गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ११ दशमलव ७७ , शिक्षाको सात दशमलव ६७, कपडाजन्य तथा जुत्ताचप्पलको छ दशमलव २९, सूर्तीजन्य पदार्थको चार दशमलव ८४ र फर्निसिङ तथा घरायसी उपकरणको चार दशमलव ५५ प्रतिशतले बढेको छ।
बिमा तथा वित्तीय सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक शून्य दशमलव २२ प्रतिशतले घटेको छ। राष्ट्र बैंकका अनुसार गत भदौ महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक एक दशमलव ७३ र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क एक दशमलव ९१ प्रतिशतले बढेको छ।
प्रदेशगत रूपमा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति दुई दशमलव ९९, मधेसको एक दशमलव ७४, बागमतीको एक दशमलव ७२, गण्डकीको एक दशमलव ४७, लुम्बिनीको एक दशमलव ७६, कर्णालीको एक दशमलव ८५ र सुदूरपश्चिम प्रदेशको शून्य दशमलव ८८ प्रतिशत रहेको छ।
त्यस्तै, काठमाडौँ उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति दुई दशमलव २१, तराईको एक दशमलव ७०, पहाडको एक दशमलव ६८ र हिमालको दुई दशमलव ५१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।