शिक्षामन्त्री, सचिव र प्रवक्तासँग भयो विद्यालय कर्मचारीका मागबारे यस्तो संवाद

हिमाल प्रेस २६ असोज २०८२ ११:०१ | Sunday, October 12, 2025
34
SHARES
शिक्षामन्त्री, सचिव र प्रवक्तासँग भयो विद्यालय कर्मचारीका मागबारे यस्तो संवाद

काठमाडौँ- नेपाल विद्यालय कर्मचारी परिषद् बागमती प्रदेश समिति अध्यक्ष रामशरण फुयालले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा. महावीर पुनसँग शुक्रबार संवाद भएको बताएका छन्।

फुयालका अनुसार उक्त संवादका लागि मन्त्री पुनले शिक्षासचिवलाई सम्पर्क गरी छलफलको व्यवस्था गरेका थिए। छलफलका क्रममा हाल केही पालिकाले अर्थ मन्त्रालयको परिपत्र बमोजिम विद्यालयका कर्मचारीहरूलाई हटाउने वा करार समाप्त गर्ने जस्ता कार्य गरेको विषय उठाइएको थियो।

यस सन्दर्भमा मन्त्री पुनले उक्त नियम विद्यालयका शिक्षक वा कर्मचारीमा नभई केवल पालिकाद्वारा नियुक्त कर्मचारीहरूमा मात्र लागू हुने स्पष्ट पार्नुभएको फुयालले बताए। ‘यदि कुनै पालिकाले विद्यालयका कर्मचारीलाई त्यसो गरेको खण्डमा शिक्षा तथा मानव स्रोत विकास केन्द्र वा मन्त्रालयलाई जानकारी गराउन आग्रह गर्नुभएको छ,’ फुयालले भने।

फुयालका अनुसार मन्त्री पुनले विद्यालयका लेखा, प्रशासन तथा सहयोगी कर्मचारीहरूको हकहितका लागि चाँडै नै विशेष योजना ल्याएर व्यवस्थापन गर्ने संकेत गर्नुभएको छ। उनले मन्त्रीलाई कर्मचारीहरूले न्याय नपाए ठूलो अभिशाप हुने भनाइ राख्दा मन्त्री पुनले ‘म प्रयत्नशील छु’ भन्ने जवाफ दिनुभएको पनि जानकारी दिए।

सो अवसरमा शिक्षासचिव चूडामणि पौडेल, सहसचिव एवं प्रवक्ता शिवकुमार सापकोटा लगायतले विद्यालय कर्मचारीहरूलाई अब आन्दोलनको बाटो नअपनाउन अनुरोध गर्दै न्याय पाउने विश्वास दिलाएको फुयालले बताए। उनले कर्मचारीहरूलाई संयमित रहन तथा कुनै समस्या परेमा मन्त्रालयको इमेल वा वेबसाइटमार्फत गुनासो दर्ता गर्न आग्रह गरेका छन्।

फुयालले मन्त्रीसँगको संवादमा अर्को मुद्दा पनि उठाएका थिए। जसमा मास्टर र ब्याचलर डिग्री हासिल गरेका कर्मचारीलाई राज्यले न्यून तलबमा काम गराइरहेको विषय थियो। यसबारे मन्त्री पुनले ‘१५ हजार मात्र दिन्छु भन्ने कुरा होइन,’ भन्दै आफू पनि सो विषयमा चिन्तित रहेको बताएका थिए।

फुयालले भने,‘मन्त्रीज्यूको जवाफ र व्यवहारबाट उहाँ विद्यालय कर्मचारीको अवस्थाप्रति संवेदनशील र सकारात्मक हुनुहुन्छ भन्ने विश्वास गरेको छु।’

प्रकाशित: २६ असोज २०८२ ११:०१ | Sunday, October 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast