युद्धविराम सम्झौता इजरायलबाट अनुमोदन, शनिबार बिहानदेखि लागू हुने

हिमाल प्रेस २४ असोज २०८२ १५:५२ | Friday, October 10, 2025
युद्धविराम सम्झौता इजरायलबाट अनुमोदन, शनिबार बिहानदेखि लागू हुने विस्थापित प्यालिस्टाइनीहरू शुक्रबार इसराइल र हमासबीच युद्धविराम र बाँकी बन्धकहरूको रिहाइका लागि सहमति भएपछि, केन्द्रीय गाज़ापट्टीको वादी गाज़ा नजिकको तटीय सडक हुँदै हिँडिरहेका छन्। तस्बिर : एपी

काठमाडौँ- इजरायली सरकारले युद्धविराम सम्झौतामा स्वीकृति दिएको छ। इजरायलले स्वीकृति दिएको २४ घन्टाभित्रै शनिबार बिहानदेखि गाजामा युद्धविराम लागू हुने भएको हो।

युद्धविराम सुरू भएको ७२ घन्टाभित्र बन्धकहरूलाई रिहा गरिनेछ। अहिले पनि करिब २० इजरायली बन्धक जीवित रहेको आशा गरिएको छ। २० जना इजरायली बन्धक जीवित रहेको बताइए पनि हमासकै नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको अवस्था भने अझै अज्ञात रहेको छ।

यी बन्धकहरूको सट्टामा इजरायलले आफ्ना जेलमा रहेका सयौँ प्यालिस्टिाइनी कैदीहरूलाई रिहा गर्नेछ। इजरायली प्रधानमन्त्री बिन्यामिन नेतन्याहूले सम्झौतामा वार्ता गर्न सहयोग पु¥याएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिएका छन्।

तर, आफ्नो राजनीतकि स्वार्थका लागि यो संघर्ष लम्ब्याइरहेको नेतन्याहूमाथि आरोप लाग्दै आएको छ।

हमासका गाजा प्रमुख अलील अल–हयाले अमेरिका र अन्य मध्यस्थकर्ताहरूले युद्ध समाप्त भएको आश्वासन दिएको बताएका छन्।

यसैबीच इजरायल र हामसबीच युद्धविराम र बन्धक रिहाइसँग सम्बन्धित सम्झौताको घोषणापछि गाजाका बासिन्दामा देखिएको उत्साह बेचैनीमा परिणत भएको छ। इजरायली सेना गाजाका केही क्षेत्रमा जान सुरू गरेपछि गाजावासीमा बेचैनी देखिएको हो।

इजरायली सैनिकहरू गाजा सहरको उत्तर–पश्चिमी बाहिरी क्षेत्रबाट फर्केर पूर्वतर्फ ‘येलो लाइन’ भनिने सीमासम्म फर्किएको स्थानीयवासीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

सम्झौताअनुसार जुन क्षेत्रबाट इजरायली सेना फिर्ता हुनुपर्ने हो, तीमध्ये धेरै क्षेत्रमा अझै पनि इजरायली ट्यांक र बख्तरबन्दा सवारीसाधन तैनाथ छन्। यी क्षेत्रमा दक्षिणी गाजाको खान युनिस र तटीय इलाका पर्छन्।

स्थानीय बासिन्दाका अनुसार तटीय इलाकामा तैनाथ ट्यांकहरूले शुक्रबार बिहान गोलीबारे गरेका थिए। जसका कारण सयौँ विस्थापित व्यक्तिहरू सडक हुँदै उत्तरतर्फ आफ्ना घर फर्कन सकेनन्।

युद्धविरामको घोषणा भइसके पनि उत्तर र दक्षिण गाजाका केही भागहरूमा शुक्रबार पनि विस्फोटका आवाज सुनिएको स्थानीयले बताएका छन्।

प्रकाशित: २४ असोज २०८२ १५:५२ | Friday, October 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast