
काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेता डा.बाबुराम भट्टराईले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्ने कुनै पनि प्रयासलाई नेपाली इतिहासले कहिल्यै क्षमा नगर्ने बताएका छन्।
सामाजिक सञ्जालमा बिहीबार राति उनले लेखेका छन्, ‘स्मरण रहोस्, जसले अझै हठ गरेर देशलाई थप द्वन्द्वको दिशामा धकेल्ने धृष्टता गर्छ र देशको स्वाधीनता र संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै धरापमा पार्ने कुकृत्य गर्छ, उसलाई नेपाली इतिहासले कहिल्यै क्षमा गर्नेछैन।’
डा.भट्टराईले ‘ऐतिहासिक जेनजी विद्रोह’ को एक महिना पूरा भएको सन्दर्भमा सबैलाई गम्भीर आत्मसमीक्षा गर्न आग्रह गर्दै थप मुठभेड होइन, अग्रगामी रूपान्तरणसहितको दिगो शान्ति र समृद्धिको मार्ग प्रशस्त गर्न अपिल गरेका छन्।
उनले जेनजी विद्रोह पुराना दल र तिनका नेताहरूको चरम सत्तालिप्सा, कुशासन र भ्रष्टाचारविरुद्ध युवाको आक्रोशको परिणाम भएको स्पष्ट पार्दै राजनीतिक दलहरूले यसबाट गम्भीर पाठ सिक्नुपर्ने बताएका छन्।
डा.भट्टराईका अनुसार देशभित्र असन्तुष्टि फैलिँदा र राज्यका अंगहरू दलियकरण हुँदै क्षयतर्फ जाँदा अकस्मात् जनविद्रोह बिस्फोटित हुँदा भयावह स्थिति सिर्जना हुन सक्ने तथ्य सबैले बुझ्नुपर्नेछ।
उनले लोकतन्त्रमा राजनीतिक दल नै राज्यका प्रमुख खम्बा भएकाले पुराना दलको रूपान्तरणसहित पुस्तान्तरण र नयाँ वैकल्पिक शक्तिहरूको बृहत् ध्रुवीकरणमार्फत देशलाई पुनर्निर्माणको मार्गमा डोर्याउनुपर्ने सुझाव दिएका छन्।