
टेस्लाले आफ्नो प्रमुख मोडेल ‘मोडेल वाई’ को सस्तो संस्करण बजारमा ल्याएको छ। इलोन मस्कको कम्पनीले अमेरिकी बजारमा विद्युतीय सवारीसाधनका लागि दिइँदै आएको संघीय कर छुट समाप्त भएपछि माग घट्ने अनुमानसहित नयाँ कार सार्वजनिक गरेको हो।
३७ हजार ९९० अमेरिकी डलर मूल्यको ‘स्ट्यान्डर्ड’ संस्करण अघिल्लो आधारभूत मोडेलभन्दा करिब १५ प्रतिशत सस्तो छ। नयाँ मोडेलमा अटो–स्टियर, टचस्क्रिन र हिटेड सिटजस्ता सुविधा छैनन्। साथै कम्पनीले ३६ हजार ९९० डलर मूल्यमा उपलब्ध हुने मोडेल ३ सेडानको पनि सस्तो संस्करण प्रस्तुत गरेको छ।
टेस्लाको सेयर मूल्यमा मंगलबार ४ प्रतिशतभन्दा बढी गिरावट आएको छ।
गत महिनामा कम्पनीको तेस्रो त्रैमासिक विश्वव्यापी वितरणले नयाँ रेकर्ड कायम गरेको थियो। किनभने अमेरिकी उपभोक्ताहरूले सात हजार पाँच सय डलरको कर छुट अन्त्य हुनुअघि विद्युतीय सवारी खरिद गर्न हतार गरेका थिए।
फोर्ड, स्टेलान्टिस र जीएम जस्ता प्रतिस्पर्धी कम्पनीहरूले पेट्रोल र हाइब्रिड मोडेल विस्तार गर्दै छन्। तिनीहरूले विद्युतीय सवारीको बिक्री घट्ने अनुमान गर्दै ठूला पिकअप ट्रक र एसयूभीबाट बढी नाफा कमाउने रणनीति बनाएका छन्।