
काठमाडौँ- भदौ २३ र २४ गते भएको विरोध प्रदर्शन र तोडफोडका कारण हवाई मार्गबाट नेपाल आउने अन्तर्राष्ट्रिय पर्यटकको संख्या सेप्टेम्बर महिनामा १८.२६ प्रतिशतले घटेको छ। नेपाल पर्यटन बोर्डका अनुसार सेप्टेम्बरमा ७८ हजार ११ अन्तर्राष्ट्रिय पर्यटक नेपाल आएका थिए। यो तथ्यांक अघिल्लो वर्षको सोही महिनामा आएका पर्यटकभन्दा १८.२६ प्रतिशत कम हो। सन् २०२४ को सेप्टेम्बरमा ९६ हजार ३०२ विदेशी पर्यटक नेपाल आएका थिए।
यस अवधिमा सबै बजार समूहबाट आउने पर्यटक संख्यामा गिरावट देखिएको बोर्डले जनाएको छ। दक्षिण एसियाबाट आउने पर्यटक संख्या गत वर्षको सेप्टेम्बरमा ३३ हजार ६११ बाट घटेर २४ हजार २८५ पुगेको छ। त्यस्तै, एसिया (सार्कबाहेक) बाट आउने आगन्तुक संख्या पनि अघिल्लो वर्षको १८ हजार ९८९ बाट घटेर १२ हजार ५९० मा सीमित भएको छ।
युरोपबाट आउने पर्यटक संख्या गत वर्षको सेप्टेम्बरमा १८ हजार ५० बाट घटेर यस वर्षको सेप्टेम्बरमा १६ हजार ९७ पुगेको छ। अमेरिकाबाट आउने पर्यटक संख्या पनि घटेर सेप्टेम्बरमा ११ हजार ५२३ पुगेको छ। यो तथ्यांक जुन अघिल्लो वर्षको सोही महिनामा १२ हजार १४९ थियो।
यस महिनामा पनि भारत नेपालका लागि सबैभन्दा ठूलो स्रोत बजार रह्यो। भारतबाट सेप्टेम्बरमा कुल आगन्तुकको १९.८ प्रतिशत अर्थात् १५ हजार ५५६ पर्यटक आएका थिए। त्यसपछि संयुक्त राज्य अमेरिका (९,६७९), अस्ट्रेलिया (६,८२४), चीन (५,२३७), बेलायत (४,९८१), श्रीलंका (४,६१६), बंगलादेश (३,०१५), जर्मनी (२,२३०), इजरायल (१,७४३) र मलेसिया (१,६७३) बाट पर्यटक नेपाल आए।
सन् २०२५ को पहिलो नौ महिनामा नेपाल भ्रमण गर्ने अन्तर्राष्ट्रिय पर्यटक संख्या आठ लाख १५ हजार २७३ पुगेको छ। यो तथ्यांक अघिल्लो वर्षको सोही अवधिमा रहेको आठ लाख १६ हजार ६३७ भन्दा कम हो।
पर्यटन व्यवसायीहरूले विरोध र तोडफोडका घटनाले सम्पूर्ण सिजनभर पर्यटक आगमनमा नकारात्मक प्रभाव पार्ने चिन्ता व्यक्त गरेका छन्।
नेपालमा असार-साउनपछि वर्षा घट्दै जाँदा अगस्तदेखि पर्यटन आगमन बढ्न थाल्छ। अनुकूल मौसम र ठूला सांस्कृतिक पर्वका कारण अक्टोबर र नोभेम्बर महिना पर्यटकका लागि सबैभन्दा व्यस्त समय मानिन्छन्।
सन् २०२४ मा नेपालले ११ लाख ४७ हजार ५६८ विदेशी पर्यटकको स्वागत गरेको थियो। त्यो सन् २०२३ भन्दा १३.०७ प्रतिशतले बढी हो। यो संख्या सन् २०१९ मा कायम भएको रेकर्ड ११ लाख ९७ हजार १९१ भन्दा अझै ४.१४ प्रतिशतले कम रहेको बोर्डले जनाएको छ।