
काठमाडौँ- चार दशक बढीदेखि पार्टी र राज्यसत्तामा रजगज रहेका राजनीतिक दलका नेताहरूले दुई दिनको जेनजी आन्दोलनले आफूहरूलाई भित्तामा पुर्याउला भनेर कल्पना नै गरेका थिएनन्। भदौ २३ र २४ गते काठमाडौँसहित देशभर जेनजी प्रदर्शनले राजनीतिक रूपमा सबैभन्दा बढी असर पुराना राजनीतिक दलहरूलाई गर्यो। ‘आफूले भनेकै ठीक, आफूले जे गरे नि हुने’ लगायतका सोचबाट ग्रसित पुराना राजनीतिक दलका शीर्ष नेताहरूको आडम्बरलाई जेनजी आन्दोलनले लगभग ध्वस्त पारिदिएको छ।
आन्दोलनका क्रममा कतिपय नचिताइएका अप्रिय घटना भए। प्रहरीको गोली लागेर कैयौँ प्रदर्शनकारीको ज्यान गयो, लुटपाट र आगजनीजस्ता दुःखद् घटना भए।
आन्दोलन र प्रदर्शनकारीको निशानाबाट त्यो बेला सत्तामा रहेकाका साथै पुराना नेताहरू जोगिन सकेनन्। यहाँसम्म कि बालुवाटारभित्र कडा सुरक्षा घेरामा रहेका झन्डै दुई तिहाई बहुमत रहेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्यान जोगाउन हेलिकप्टर चढेर भाग्नुपर्यो। ओलीकै भनाइमा ‘पाँच मिनेट अझै ढिलो भइदिएको भए ज्यान जोगाउन मुस्किल थियो।’
२३ गतेको शान्तिपूर्ण प्रदर्शनमा ओली प्रशासनले ताकीताकी १९ जना युवाको हत्या गरेपछि जनआक्रोश बढेको थियो। परिणामस्वरूप भोलिपल्ट भएको आन्दोलनले राजनीतिक कोर्स नै विपरीत दिशातर्फ फर्काइदियो।
ओलीका साथै पाँचपटक देशका प्रधानमन्त्री भइसकेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आन्दोलनकारीको निसानामा परे। बूढानीलकण्ठस्थित आलिसान घरभित्र रहेका पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति देउवामाथि आक्रमण भयो। देउवा–पत्नी एवं बहालवाला परराष्ट्रमन्त्री आरजु देउवा राणा प्रदर्शनकारीबाट जोगिन सकिनन्।
चौबिसै घन्टा कडा सुरक्षामा रहने गरेका देउवा दम्पतीले ज्यान जोगाउन जेनतेन आफ्नो घरबाट भाग्नुपर्यो। प्रदर्शनकारीको कुटपिटबाट घाइते भएका देउवा दम्पती छाउनीस्थित नेपाली सेनाको अस्पतालमा उपचारका लागि भर्ना भए्। उपचारपछि स्वास्थ्य अवस्था ठीक भएर दुवैजना भाडाको घरमा फिर्ता भएका छन्। बूढानीलकण्ठस्थित निवास आगजनीका कारण बस्नयोग्य नभएपछि देउवा दम्पती भाडाको घरमा बस्न थालेका हुन्। यद्यपि देउवा दम्पती बस्ने भाडाको घरको ठेगानाबारे सार्वजनिक गरिएको छैन।
जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको कुटपिटबाट घाइते भएयता कांग्रेसका केही बैठक बसे। ती बैठकहरूको सभापतित्व उपसभापति पूर्णबहादुर खड्काले गरेका थिए। यसबीचमा कांग्रेस सभापति देउवाले वक्तव्य निकालेर आफ्ना धारणा सार्वजनिक गरे तापनि उनी भौतिक रूपमा बैठकहरूमा सहभागी भएका छैनन्।
फागुन २१ गते आमचुनाव गराउने सर्तमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ। राजनीतिक दलहरू चुनावको मितिलाई ‘डेडलाइन’ ठानेर आन्तरिक तयारीमा जुटिसकेका छन्।
कांग्रेसभित्र भने चुनावको भन्दा पार्टी नेतृत्वको विषय बढी पेचिलो बनेको छ। अहिलेको नेतृत्व असफल भइसकेको भन्दै नयाँ नेतृत्वका साथ चुनावमा जानुपर्ने तर्क पार्टीभित्र हुन थालेको छ।
सभापति देउवा आफैँले पनि अब आफू पार्टी नेतृत्वमा नबस्ने र मिलेर आउन सबैलाई आग्रह गर्न थालेका छन्। नेताहरूका अनुसार उनले केही शीर्ष नेताहरूलाई फोन गरेर नेतृत्व छोड्ने संकेत दिएका छन्। तर देउवाको यो भनाइप्रति इतरपक्षले विश्वास गरेको छैन। नेतृत्वमा नबस्ने सभापतिको भनाइ सकारात्मक रहे पनि यो कुरा धेरै अगाडिबाट आइरहेकाले विश्वास गर्न नसकिने इतर पक्षका नेताहरूको भनाइ छ। त्यसैले उनीहरू विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्नुपर्नेमा जोड दिइरहेका छन्।
संस्थापननिकटकै नेताहरू पनि ‘अब नेतृत्वमा नबस्ने देउवाको यो भनाइ अहिलेका लागि नभएर १५ औँ महाधिवेशनका लागि रहेको’ बताउँछन्।
‘शेरबहादुर दाइले अब सभापति हुन्न भनेर अहिलेका लागि नभएर १५ औँ महाधिवेशनका लागि भन्नुभएको हो,’ प्रचार विभाग प्रमुखसमेत रहेका संस्थापननिकट नेता मीनबहादुर विश्वकर्मा भन्छन्, ‘यो कुरा त उहाँले दुई वर्षदेखि भनिरहनुभएको छ। १५ औँ महाधिवेशनमा सभापति बन्दिनँ भनेर उहाँले भन्नुभएको हो। अहिलेका लागि होइन।’
जेनजी आन्दोलनपछि मुलुकको राजनीति फेरिएको छ नै, दलहरूसमेत नयाँ ढंगबाट सोच्न बाध्य भएका छन्। कतिपय दलहरूले त जेनजी पुस्ताले उठाइरहेका मागअनुसार पार्टी नेतृत्व फेर्न समेत तयार रहेको घोषणा गर्न थालेका छन्। देशकै सबैभन्दा जेठो राजनीतिक दल कांग्रेस भने अझै आन्तरिक कलहमै रुमलिएको देखिन्छ।
चुनाव मिति घोषणा भए पनि यसका लागि सरकार र निर्वाचन आयोगबीच हालसम्म कुनै परामर्श भएको छैन। जेनजी आन्दोलनका क्रममा भएका आगजनीका कारण सिंहदरबादेखि प्रतिनिधिसभाका साथै देशभरका आवश्यक भौतिक संरचना जलेर नष्ट भएका छन्।
यसखाले कठिन परिस्थितिमा चुनाव सम्भव छ वा छैन भन्नेतर्फ गम्भीरताका साथ सरोकारवालाहरूबीच छलफल भएको देखिँदैन। घोषणा गरेरमात्रै चुनाव सम्भव नभएकाले वातावरण बनाउनतर्फ राजनीतिक दलहरूले जोड दिन पनि जरुरी छ।
मुलुकले जटिल राजनीतिक परिस्थिति सामना गरिरहेको बेला आफूलाई लोकतन्त्रको हिमायती भन्ने देशकै जेठो पार्टी कांग्रेस अलमलमा छ। जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको कुटपिटबाट घाइते भएका सभापति देउवा पार्टीको ‘पोजिसन’ प्रस्ट पार्न सकिरहेका छैनन्।
पूर्वउसभापति विमलेन्द्र निधि सभापति बैठकमा आउन नसके कार्यवाहक तोकेर पार्टीको गतिविध अगाडि बढाउनुपर्नेमा जोड दिन्छन्। ‘चुनाव मिति घोषणा भएपछि पार्टीको अबको पोजिसन के हुन्छ भनेर निर्णय गर्न ढिलो भइसक्यो। सभापति बैठकमा आउन सक्नुहुन्न भने उपसभापतिलाई कार्यवाहक दिएर छिटो निर्णय गरेर अगाडि बढुनुपर्छ,’ उनी भन्छन्, ‘महाधिवेशन पनि छिटो गर्नेगरी वातावरण तयार गर्नुपर्छ।’
कांग्रेसले आगामी २६ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। दिउँसो १ बजे बोलाइएको बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ।
मुलुकको परिवर्तित राजनीतिक अवस्था, पार्टीको आगामी रणनीतिलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको नेताहरूले बताएका छन्। केन्द्रीय कार्यसमितिको बैठकमा सभापति देउवा उपस्थित हुने वा नहुने भन्ने विषयमा नेताहरू आफैँ जानकार छैनन्। जेनजी आन्दोलनपछि पहिलोपटक बस्न लागेको केन्द्रीय कार्यसमिति बैठकमा सभापति उपस्थित हुने–नहुने टुंगो नरहेको नेताहरूको भनाइ छ।
प्रचार विभाग प्रमुख विश्वकर्मा २६ गते बस्ने बैठकबाट पार्टीका विषयमा देखिएका सबै अन्योल अन्त्य हुने दाबी गर्छन्।
‘विशेष महाधिवेशन, पार्टी नेतृत्व, वर्तमान राजनीतिक सदन्दर्भमा पार्टीको पोजिसनलगायतका विषयमा अन्योल देखिएका छन्,’ उनी भन्छन्, ‘२६ गतेको बैठकमा सबै प्रस्ट हुन्छ। जे जति विषय छन् सबै प्रस्तावका रूपमा आउला र बैठकबाटै निर्णय हुन्छ।’
कांग्रेसका इतरपक्ष भने यथास्थितिमा पार्टी अगाडि बढ्न नसक्ने भन्दै तत्काल विशेष महाधिवेशनको घोषणा गर्न माग गर्दै हस्ताक्षर अभियान अगाडि बढाइसकेको छ। डा. शेखर कोइरालानिकट नेता गुरु घिमिरेहरू वर्तमान नेतृत्व असफल भएकाले विशेष महाधिवेशनको विकल्प नरहेको भन्दै हस्ताक्षर अभियान सुरु गरेका छन्।
विधानअनुसार देउवाको कार्यकाले आगामी मंसिर २८ गते पूरा हुँदै छ। संस्थापनपक्ष यो समयपछि नयाँ मिति घोषणा गरेर नियमित महाधिवेशन गर्ने रणनीति बुनिरहेको छ।
प्रचार विभाग प्रमुख विश्वकर्मा मंसिर २८ पछि हुने महाधिवेशन नियमित हुने तर्क गर्छन्। ‘समयअगावै हुने महाधिवेशनलाई विशेष महाधिवेशन भनिन्छ,’ उनले भने, ‘मंसिर २८ गते यो कार्यसमितिको कार्यकाल सकिँदै छ, त्यसपछि हुने महाधिवेशन त नियमित हो नि! तर पनि २६ गतेको बैठकबाट सबैथोक प्रस्ट हुन्छ।’
इतरपक्ष भने नियमित महाधिवेशन गर्ने समय नै नरहेको दाबी गर्दै विशेष महाधिवेशनको विकल्प नरहेको तर्क गर्छ।
‘चुनाव घोषणा भइसकेको अवस्था छ। चुनावमा जाने कि नियमित महाधिवेशनमा? नियमित महाधिवेशनका लागि तयारी नै पुगेको छैन,’ उनी भन्छन्, ‘अब विशेष महाधिवेशनको विकल्प छैन। अहिलेको कार्यसमितिले तत्काल विशेष महाधिवेशनको घोषणा गर्नुपर्छ, हामीले हस्ताक्षर अभियान पनि सुरु गरिसकेका छौँ।’
नियमित महाधिवेशन गर्ने बहानामा अहिलेको नेतृत्वले फेरि कार्यसमितिको म्याद थप्ने नीति लिएको उनको भनाइ छ। यो कार्यसमितिले म्याद थप्ने कुरा आफूहरूलाई स्वीकार्य नहुने घिमिरेले बताए।
‘यो कार्यसमितिले कुनै पनि बहानामा समय थप्न मिल्दैन, हामीसँग समयको सुविधा छैन,’ घिमिरे भन्छन्, ‘नयाँ नेतृत्वसहित चुनवामा जानुपर्छ, त्यसैले विशेष महाधिवेशनको विकल्प छैन।’
कांग्रेसमा देउवाको नेतृत्व पूर्णतः असफल भइसकेको ठहर इतरपक्षले गरेको छ।
‘राजनीतिक दुर्घटनालाई ठम्याउन नसकेको नेतृत्व पूर्ण रूपमा असफल भइसकेको छ,’ उनी भन्छन्, ‘यही नेतृत्वलाई लिएर चुनावमा जान सकिँदैन, नयाँ नेतृत्व चाहिएको छ। टेस्टेड नेताहरूलाई कांग्रेसले स्वीका गर्दैन।’