तालवाराही मन्दिर : दुई वर्षमा पनि भएन पुनः निर्माण, कोजाग्रतमा उपस्थिति न्यून

विजय नेपाल २० असोज २०८२ १६:३९
34
SHARES
तालवाराही मन्दिर : दुई वर्षमा पनि भएन पुनः निर्माण, कोजाग्रतमा उपस्थिति न्यून

पोखरा– कोजाग्रत पूर्णिमा अवसरमा फेवातालबीचको धार्मिक पर्यटकीय गन्तव्य तालवाराही मन्दिरमा सोमबार भक्तजनको पातलो उपस्थिति रह्यो। मन्दिर पुनः निर्माणमा ढिलाइसँगै मुलुकमा उत्पन्न पछिल्लो परिस्थितिका कारण यसपालि भक्तजनको उपस्थितिमा कमी भएको हो।

ताल वाराही मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम पहारी बाढीपहिरो तथा मुलुकमा उत्पन्न पछिल्लो परिस्थितिले भक्तजनको उपस्थिति पातलो भएको हुन सक्ने बताउँछन्।

उनी भन्छन्, ‘यसपालि विगतको तुलनामा भक्तजन निकै कम आए। बिहान अलि धेरै भीडभाड थियो। दिउँसो घटिसकेको छ। पहिलेभन्दा एक चौथाइमात्र उपस्थिति रह्यो।’

यसपालि पूर्णिमा दुई दिन परेको भन्दै मंगलबार राम्रै उपस्थिति हुनेमा उनी आशावादी छन्। मूल मन्दिरको पुनः निर्माण जारी रहेकाले नजिकै देवीको प्रतिस्थापन गरी पूजाआजाको व्यवस्था मिलाइएको छ।

अन्य बेला वर्षैभरि भक्तजनको उपस्थिति बाक्लो हुने तालवाराहीमा वर्षमा दुईपल्ट सबैभन्दा बढी भीड लाग्ने गर्छ। हरेक वर्ष कोजाग्रत पूर्णिमा तथा नेपाली नयाँ वर्षमा यहाँ दर्शन गर्न आउने भक्तजनका कारण फेवातालमा डुंगाको ताँती नै लाग्छ भने मन्दिर परिसरमा खुट्टा टेक्ने ठाउँ हुँदैन। विगतमा कोजाग्रत पूर्णिमाको एकै दिन करिब १० हजारभन्दा बढी भक्तजन डुंगा तरेरै मन्दिर पुग्थे। डुंगा चलाउने मजदुरले पनि राम्रै कमाइ गर्दथे। साथै, लेकसाइड तथा पोखरा क्षेत्रमा आर्थिक कारोबार पनि राम्रै फस्टाउँथ्यो।

तर एक वर्षमै निर्माण पूरा गर्ने लक्ष्य भए पनि पुराना संरचना काम नलाग्ने भएपछि निर्माण लागत बढ्नुका साथै समयसमेत घर्किएको हो। दुई वर्षअघि २०८० असोजमा मन्दिरको पुनः निर्माण थालिएको थियो। मन्दिर निर्माण कार्य पोहोर दसैँमै सक्ने लक्ष्य थियो। सोही अनुरुप काम अघि बढाएकोमा पुनः निर्माणको विषयलाई लिएर मन्दिर व्यवस्थापन समिति र पुरातत्व विभागबीच कुरा बाझिन पुग्यो। अन्ततः पुरातत्व विभागकै निर्देशनअनुरुप पुनः निर्माण कार्य जारी राखी हाल निर्माण अन्तिम चरणमा पु¥याइएको छ।
ताल वाराही मन्दिर गुठी व्यवस्थापन समितिका उपाध्यक्ष एवं ताल वाराही मन्दिर पुनःनिर्माण समिति सदस्य महेश्वर पहारी बाहिर देखिने काम करिब सम्पन्न भइसकेको बताउँछन्। तामाको छाना हाल्न, ढलान कार्य, गजुरमा सुनको जलप लगाउने लगायतका काम बाँकी छन्।

उनका अनुसार मन्दिरका ९० प्रतिशत सामान पुरानै प्रयोग गर्ने गरी एक करोड ४० लाख निर्माण लागतमा पुरातत्व विभागको सहमतिमा पुनः निर्माण सुरु गरिएको थियो। त्यसका लागि पुरातत्व विभागले पनि २५ लाख दिने आश्वासन दिएको थियो। तर मन्दिरका ३६ टुँडालबाहेक अरु काठहरु कुहिएर काम नलाग्ने भेटियो। अहिले काठ, ढुंगा पूरै नयाँ हालिएको छ।

दुई छानासहित तीनतले प्यागोडा शैलीको मन्दिर निर्माणका लागि भक्तपुरबाट कालीगढ मगाइएको छ भने अधिकांश सामानहरु बाहिरैबाटै झिकाइएको छ। उपाध्यक्ष पहारी भन्छन्, ‘हेटौँडा, भरतपुर र नारायणगढबाट काठ ल्याइएको हो। नपुगेको साढे १३ फिटे काठ ललितपुरबाट पनि ल्याइएको छ। कास्कीको सल्यानबाट कडा प्रस्तर (ढुंगा) ल्याइएको छ। सूर्ति र चुना भक्तपुरबाट ल्याइएको हो।’

आवश्यक सामग्री मगाउँदा पुरातत्व विभागलाई देखाएरै ल्याउने गरिएको छ। विभागको निर्देशन अनुसार १० वटा झ्याल निर्माण गरिएको छ। भित्री तथा बाहिरी चौकोसहित एउटा झ्याल बनाउन कालीगढलाई १५ देखि २० दिनसम्म लाग्दो रहेछ।

पुरानो मन्दिरमा तालवाराही माताको मूर्ति जहाँ थियो, त्यही राखी निर्माण भइरहेको हो। मूलढोका एक फिट तल झारिएको छ। विगतमा चार सिँढी उक्लिनुपर्नेमा दुई सिँढी कम भएका छन्।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पहारी साढे ५ महिनासम्म मन्दिर परिसर जलमग्न हुँदा काम गर्न नपाइने र पुराना सामान पनि प्रयोग गर्न नपाउँदा निर्माण लागत बढ्न गएको बताउँछन्। करिब डेढ करोड निर्माण लागत अनुमान गरिएकोमा बढेर करिब साढे २ करोड लागत लाग्ने उनको अनुमान छ।
पुनः निर्माणमा सरकारी तबरबाट खास सहयोग छैन। मन्दिरको संकलित भेटीबाटै सम्भव हुँदैछ।

मन्दिरका उपाध्यक्ष महेश्वर पहारीका अनुसार पुरातत्वले पहिले बोलेको २५ लाख नदिई ६ लाखमा मात्र दिएको छ। त्यस्तै, संघ, प्रदेश तथा स्थानीय सरकार कही कतैबाट सहयोग छैन।

मन्दिर पुनः निर्माणको शिलान्यास पोखराका मेयर धनराज आचार्यले गरेका हुन्। यही क्षेत्रबाट चुनाव लडेर गण्डकीमा सांसद निर्वाचित प्रकाश बराल पनि चुनाव लड्नुअघि दर्शन गर्न आए पनि एकपल्ट फर्केर आएका छैनन्।

यद्यपि भक्तजनको भेटीबाट संकलित रकमबाटै निर्माण पूरा गर्ने लक्ष्यका साथ दिनरात नभनी काम गरिरहेको अध्यक्ष पर्शुराम पहारी बताउँछन्। आगामी २०८३ सालको पहिलो दिनदेखि सर्वसाधारणलाई पूजाआजाका लागि मन्दिर खुला गर्ने लक्ष्य रहेको उनले सुनाए।
मन्दिर पुनः निर्माण समितिका संयोजकसमेत रहेका मन्दिरका सचिव ध्रुवराज बरालका अनुसार तालवाराहीले करिब ३ रोपनी क्षेत्रफल ओगटेको छ। यहाँ ताल वाराही मन्दिरबाहेक गणेशको मन्दिर, हवन कुण्ड, प्रतीक्षालय र कार्यालयका संरचना छन्।

कास्कीका तत्कालीन राजा कुलमण्डल शाहले खरको झुप्रो बनाई मन्दिर स्थापना भएको इतिहास पाइन्छ। प्राचीनकालमा यहाँ माटोको ढिस्को थियो। पर्यटकीय राजधानी पोखराको एक प्रमुख धार्मिक पर्यटकीय गन्तव्य तालवाराही मन्दिर ०७२ को विकासकारी भूकम्पमा दक्षिणतर्फ केही ढल्केपछि पुनः निर्माण थालिएको हो।

पुनः निर्माण हुँदै गरेकाे मन्दिर।

प्रकाशित: २० असोज २०८२ १६:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast