
काठमाडौँ- जल तथा मौसम विज्ञान विभागले विपद्को समयमा अनावश्यक रूपमा सामाजिक सञ्जालमा भ्रम छर्ने किसिमका सूचना सम्प्रेषण हुन सक्ने र यसले मानसिक रूपमा त्रास बढाउन सक्ने भन्दै आधिकारिक सूचनामात्रै विश्वास गर्न आग्रह गरेको छ।
विभागले आफ्ना आधिकारिक सामाजिक सञ्जाल फेसबुक र एक्समार्फत पनि सूचना जारी गर्दै विशेष सजक रहन अनुरोध गरेको हो। विभागले बाढी र मौसमसम्बन्धी जानकारीका लागि ११५५ मा फोन गरेर आधिकारिक सूचना लिन सकिने जनाएको छ।
विभागले होचा स्थान र नदी किनारमा बस्नेले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। आइतबार बिहान ८ बजेसम्म भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै विभागले यी स्थानमा बसोबास गर्ने सर्वसाधारणलाई बाढीबाट बच्न सुरक्षित स्थानमा बस्न आग्रह गरेको हो।
‘असोज २० गतेसम्म नै बाढीको जोखिम रहेकाले होचा स्थान तथा नदी आसपासमा रहनेहरूले सुरक्षित स्थानमा बस्नुपर्ने र रातको समयमा अझै बढी चनाखो रहन आवश्यक छ’, विभागका बाढीविद् विनोद पराजुलीले भने।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका अधिकांश स्थानमा पूर्ण बदली रही बाँकी भूभागमा सामान्य बदली रहनेछ।
कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मेघगर्जन-चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। त्यसैगरी कोशी, मधेश र बागमती प्रदेशका पहाडी तथा तराई भूभागका थोरै स्थानमा र गण्डकी प्रदेशका पहाड तथा लुम्बिनी प्रदेशका तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। कोशी, मधेश र बागमती प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाको भनाइ छ।