जोखिम बस्तीका बासिन्दालाई विद्यालयमा स्थानान्तरण गर्दै काठमाडौँ महानगर

हिमाल प्रेस १८ असोज २०८२ १७:२७
12
SHARES
जोखिम बस्तीका बासिन्दालाई विद्यालयमा स्थानान्तरण गर्दै काठमाडौँ महानगर

काठमाडौँ- निरन्तर वर्षाका कारण काठमाडौँ महानगरपालिकाभित्रका खोलाहरूमा पानीको बहाव बढ्दै गएपछि छेउछाउका जोखिमयुक्त बस्तीमा बसोबास गर्ने बासिन्दालाई नजिकका विद्यालयमा स्थानान्तरण गरिरहेको छ।

महानगरले थली, बानेश्वर, कोटेश्वर र दोभान क्षेत्रमा स्थानीय वडा सदस्यहरूमार्फत समन्वय गरी विद्यालयहरूलाई आश्रयस्थलका रुपमा पहिचान गरेको हो।

डुबानको सम्भावना बढेपछि महानगरपालिकाको शिक्षा विभागले सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन जारी गरेको छ।

खोला छेछाउका जोखिमयुक्त बस्तीमा बसोबास गर्ने बासिन्दाहरूलाई नजिकैका विद्यालयहरूमा स्थानान्तरण गर्ने कार्य भइरहेको महानगरले जनाएको छ।

विपद्का अवस्थामा बासिन्दाहरूलाई बस्ने, सुत्ने र ओत लाग्ने स्थानको अभाव हुनसक्ने भएकाले विद्यालयहरूलाई आधारभूत सुविधाहरू तयार राख्न र उद्धार कार्यमा सहयोग गर्न महानगरले निर्देशन दिएको छ।

महानगरपालिकाको विपद् व्यवस्थापन विभागका अनुसार बागमती, विष्णुमतीलगायतका खोलाहरूको पानीको सतह निगरानीमा राखिएको छ।

महानगरपालिकाले गत वर्ष जोखिमममा परेका क्षेत्रहरूमा प्राविधिक टोली खटाएर निरन्तर निगरानी गरिरहेको जनाएको छ। हालसम्म ठूलो बाढीको कुनै घटना नभए पनि सम्भावित जोखिमलाई मध्यनजर गरी सतर्कता अपनाइएको महानगरको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast