जनकपुरको राजदेवी मन्दिरमा १४ हजार बोकाबलि

हिमाल प्रेस १५ असोज २०८२ ७:३४
32
SHARES
जनकपुरको राजदेवी मन्दिरमा १४ हजार बोकाबलि

काठमाडौँ- जनकपुरधामस्थित राजदेवी मन्दिरमा १४ हजार बोकाबलि भएको छ। मंगलबार महाष्टमी तिथिको राति राजदेवी मन्दिरमा १४ हजार ९०३ बोकाबलि भएको हो।

राजदेवी मन्दिरमा पूजा संयोजन गर्दै आएको महावीर युवा कमिटीका पूर्वअध्यक्ष विनोद चौधरीले यसपालि १४ हजार ९०३ बोकाबलि भएको जानकारी दिए।

गत वर्ष यो संख्या १५ हजार ४ रहेको थियो।

मंगलबार राति ८ः१० बाट सुरू भएको बोकाबलि बिहान ३ः५५ बजेसम्म चलेको थियो। श्रद्धालुहरूको संख्या बढेपछि समयमै व्यवस्थापन गर्न मन्दिर परिसरभित्र चार ठाउँमा बोकाबलि दिने व्यवस्था गरिएको थियो।

मंगलबार राति हुने बोकाबलिका लागि बिहानैबाट श्रद्धालुहरू लाइनमा बसेका थिए। राजदेवी मन्दिरमा बोकाबलिका लागि धनुषा, महोत्तरी, सर्लाही, सिरहाका साथै भारतबाट समेत श्रद्धालुहरू आउने गर्दछन्। राजदेवी मन्दिरममा बोकाबलि गरेपछि भाकल पूरा हुने जनविश्वास रहेको छ।

बोकाबलिअघि राजदेवी मन्दिरमा निशा पूजा गरिएको थियो। राम मन्दिरका महन्त राम गिरीले निशा पूजा गरेका थिए। बोकाबलिअघि राजदेवी मन्दिरमा निशा पूजा गर्ने परम्परा रहेको छ। त्यस्तै नेपाली सेनाको टुकडीले राजदेवी मन्दिर परिसरमा सलामी अर्पण गरेका थिए।

राजा जनकको कुलदेवी भनिएकी राजदेवी मन्दिरमा वर्षको एकपटक बडादसैँको महाष्टमका दिनमात्र बोकाबलि हुने गरेको छ।

भाकल गरेका साथै अन्य व्यक्तिहरूले समेत महाष्टमीका राति राजदेवी मन्दिरमा बोकाबलि गर्ने गरेका छन्।

प्रकाशित: १५ असोज २०८२ ७:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast