न नेतृत्व सुध्रिने संकेत, न जेनजीको माग सम्बोधन

किरण पौडेल ११ असोज २०८२ १९:०६
60
SHARES
न नेतृत्व सुध्रिने संकेत, न जेनजीको माग सम्बोधन

काठमाडौँ- भदौ २३ र २४ गते देशव्यापी भएको हिंसात्मक आन्दोलनको मुख्य असन्तुष्टिका विषय थिए, वर्तमान नेतृत्व र नेतृत्वको कार्यशैली। जेनजीले गत भदौ २३ विभिन्न एजेन्डा उठाएर आन्दोलन गरे पनि सार एजेन्डा देशको नेतृत्व परिवर्तन थियो। ७० वर्षमाथि नेताहरूले लामो समय सत्ता सम्हाल्दा युवाको मनोभावना नबुझेको प्रस्ट देखिन्थ्यो।

युवाको असन्तुष्टि सामाजिक सञ्जाल र सडकमा झल्किरहेको थियो। सरकारले नेपालमा दर्ता गर्न नआएको भन्दै फेसबुक-युट्बुबसहित २६ सामाजिक सञ्जालमा रोक लगायो। जसको कारण देशभर हिंसात्मक आन्दोलन भयो भने शक्तिशाली मानिने प्रधानमन्त्रीले राजीनामा दिई सैन्य सुरक्षामा बालुवाटारबाट भाग्नुपर्‍यो।

मुख्य नेतृत्वले सत्ता सम्हाल्नु नहुने बहस आमनिर्वाचन (२०७९ साल) मै सुरु भएको थियो। पूर्वप्रधानमन्त्रीहरूको तस्बिरसहित ‘नो, नट, अगेन’ को नारा घन्किएको थियो। तर नेताहरू राजनीतिमा ढुलमुलिरहे।

चुनावपछि ‘कि सक्किने, कि सुध्रिने’ नारा लाग्न थाल्यो। मुख्य नेतामा सुधार आएन। परिणामस्वरूप युवा सडकमा निस्किए र सरकार परिवर्तन गरिदिए। अहिले बहस चलेको छ, युवा पंक्ति आन्दोलित हुनुको कारण के हो? सरकारमाथिको प्रहार हो कि व्यवस्थामाथिको असन्तुष्टि? पार्टीप्रतिको वितृष्णा कि नेतामाथिको आक्रोश? युवाहरू भन्ने गर्छन्, ‘देश जुन शैली र गतिमा चल्नुपर्थ्यो चलेन, नेताले भ्रष्टाचारबाहेक गरेनन्।’

२३ भदौपछि सडकमा निस्किने युवाको बोली यस्तै थिए। युवाकै भनाइअनुसार उनीहरूको वितृष्णा व्यवस्थाप्रति थिएन। न त पार्टीप्रति थियो।

असन्तुष्टि थियो त राजनीतिक गर्ने नेताहरूको शैलीप्रति। त्यही कारण उनीहरूको आँखी बने मुख्य नेता र पार्टी। लामो समयदेखि सत्तामा यात्रा गर्ने नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहितका मुख्य दल र नेतामाथि युवाले आक्रोश पोखे। मुख्य नेताको घर जलाइदिए। अहिले त यी पार्टीको कार्यालय भग्नावशेष बनेका छन्। यसै बेला बहस हुन थालेको छ। अब मुख्य नेताहरूले पार्टी सत्ता छाड्लान् वा नछाड्लान्? युवाको विद्रोहको सन्देश मुख्य नेतृत्वको कानमा पर्ला वा नपर्ला?

ओलीमा छैन सुध्रने संकेत

२४ भदौपछि एमाले अध्यक्ष ओली केही दिन भूमिगतजस्तै भए। युवाको आक्रोशमा पर्ने डरले उनीहरूलाई बाक्लो सुरक्षा घेरामा राखिएको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षित अनुभव गर्न सकेका छैनन्। भक्तपुरमा शनिबार आयोजित कार्यक्रममा उनी बाक्लो सुरक्षा घेरामा देखिए।

पाँच दशकभन्दा बढी राजनीतिमा सक्रिय ओलीजस्ता नेता सडकमा निस्कँदा सबै श्रद्धानत हुनुपर्ने हो। प्रिय नेता भनेर सबैका प्रेरणा बन्नुपर्ने बेला ओली देख्नेबित्तिकै सडकमा ‘…देश छोड्’ को नारा लाग्छ। सार्वजनिक ठाउँमा एउटा महानगरको मामुली मेयरले प्रशंसा पाउँछ तर ओलीको अनुहार देख्दा सर्वसाधारण यत्तिकै आक्रोशित हुन्छन्।

राष्ट्रिय युवा संघ नेपालले भक्तपुरको गुन्डुमा शनिबार आयोजना गरेको भेटघाट कार्यक्रममा सम्बोधन गर्दै एमालेका अध्यक्ष केपी शर्मा ओली। तस्बिर : रासस

यिनै पृष्ठभूमिमा सत्ताबाट गलहत्याइएका ओलीमा आफैँ सबैथोक भन्ने दम्भ शनिबार पनि देखियो। उनी नेतृत्वको सरकारले भदौ २३ गते १९ जनाको ‘हत्या’ गरेको थियो। त्यो घटनामा गल्ती भएको स्वीकार गर्नुको सट्टा ओलीले प्रधानमन्त्रीले गोली चलाउने आदेश नदिने र थाहा नपाउने भन्दै उम्किए। सोही दिन भएको नरसंहारपछि जनआक्रोश बढ्दा देशव्यापी रूपमा ७४ जनाको ज्यान गयो भने अर्बौँको सम्पत्ति नष्ट भएको थियो। ओलीले घुमाउरो पारामा ती घटनामा आफू जिम्मेवार नरहेको बताए।

ओलीले सुशीला कार्की नेतृत्वको सरकार हाहुको भरमा भनेको भन्दै आलोचना गरे। यसैगरी उनले आफूले कुनै षड्यन्त्र नगरेको दाबी गरे। यसैगरी उनले अहिले बसेको घर ‘लोकेट’ गरेर आक्रमणको धम्की दिँदा पनि सरकारले सुरक्षा नदिएको आरोप लगाए। ओली सम्बोधन गर्दा हतासमा देखिन्थे। उनमा बेचनी बेढेका थियो। कहिले टोलाउँथे। कहिले यताउति हेर्थे। बीचबीचमा समर्थकहरूले उनका पक्षमा नारा लगाउँदा उनको अनुहारमा उज्यालो देखिन्थ्यो।

पत्नीलाई अघि सारेर सक्रिय बन्न खोज्दै देउवा

विघटित प्रतिनिधिसभाका सबैभन्दा ठूलो दलका नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवा त युवाको आक्रोशमै परे। बूढानीलकण्ठस्थित घरमै रहेका देउवालाई प्रदर्शनकारीले घाइते हुने गरी आक्रमण गरे। उनी मात्रै होइन, प्रदर्शनकारीको निसानामा पत्नी आरजु पनि परिन्। उपचारका लागि अस्पतालमा रहेका देउवा पनि सक्रिय राजनीति छाड्ने मनस्थितिमा छैनन्।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी आरजुले अस्पतालबाटै कांग्रेसको उत्तराधिकारी तोक्न थालेको समाचार सार्वजनिक भइरहेका छन्। २०४८ यता शीर्ष तहमा रहेका देउवालाई अझै पनि सत्ताको भोक नमरेपछि कांग्रेस पदाधिकारीमा असन्तुष्टि चुलिएको छ।

प्रचण्ड : अध्यक्ष छाडेर आफैँ संयोजक

२४ गतेको विध्वंसपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सुरक्षा खोज्दै सेनाको शरणमा परेका थिए। केही दिनपछि सार्वजनिक भएका उनी पार्टी कार्यालय भव्य बनाउने बताएर आलोचित बने। यसैगरी जेनजी शब्द नै नबुझी भाषण गरेको भनेर उनको टिप्पणी भयो। उनले २०५२ देखि १० वर्षसम्म चलेको माओवादी ‘जनयुद्ध’ मा ९० प्रतिशत जेनजी युवा सहभागी भएको भनेर हास्यास्पद अभिव्यक्ति दिए।

प्रचण्डमा पनि सुध्रिने संकेत देखिएन। उनले पार्टीको केन्द्रीय समिति विघटन त गरे तर संयोजक आफैँ तोकिए। मंसिरमा महाधिवेशन तोकेका प्रचण्डले यसबीचमा अन्य दलसँग एकता हुने पनि संकेत गरेका छन्। मंसिरअगाडि अन्य दलसँग एकीकरण भएमा माओवादीको महाधिवेशन तत्काल हुने छैन र प्रचण्डलाई सदाबहार अध्यक्ष बन्ने बाटो खुला हुनेछ।

दरिलो बन्दै उनै नेता

एमाले अध्यक्ष ओलीले शनिबार पार्टीमा अझै आफ्नो सक्रियता रहने स्पष्ट पारे। उनले अहिलेको सरकारलाई देश जिम्मा लगाएर आफूहरू नभाग्ने बताए। उनले भने, ‘हामीले यो देश बनाउनुपर्नेछ। फेरि पनि हामी संवैधानिक लोकतान्त्रिक मूलधारमा ल्याउँछौँ।’

देउवाले आफ्नो राजनीतिक गतिविधि औपचारिक धारणा सार्वजनिक गरेका छैनन्। उनी निकट कांग्रेस प्रवक्ता प्रकाशशरण महतको भनाइलाई आधार मान्ने हो भने देउवा तत्काल पछि हट्ने मनिस्थतिमा छैनन्। कांग्रेसमा युवा पुस्ताले विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान थालेका छन्। प्रवक्ता महतले काठमाडौँमा पत्रकार सम्मेलन गरेर देउवा उपचारबाट फर्किएपछि पार्टीमा सक्रिय हुने संकेत गरेका हुन्।

कांग्रेसका महामन्त्री गगनकुमार थापा, एमालेकी नेतृ उषाकिरण तिम्सेना र माओवादी नेता जनार्दन शर्माले पार्टीमा पुस्तान्तरणको बहस चलाएका छन्। यद्यपि देउवा, ओली र प्रचण्ड तत्काल पदबाट हट्ने अवस्थामा नरहेको बुझाइ उनीहरूको छ।

जेनजीको माग सम्बोधन भएन

सरकार भने जेनजी पुस्ताले उठाउँदै आएका मागलाई केही हदसम्म समेटे पनि संविधान फाल्नुपर्ने मुख्य माग भने पूरा गर्न नसक्ने स्पष्ट पारेको छ।

प्रधानमन्त्री सुशीला कार्की बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै ६ महिनाको अन्तरिम कार्यकालमा जेनजीले उठाएका सबै माग पूरा गर्न नसक्ने बताइन्। उनीहरूका माग चुनावमार्फत सम्बोधन हुने सक्ने कार्कीको भनाइ छ। उनले जेनजी पुस्तालाई भोट हाल्ने वातावरण बनाइने बताइन्। संविधान संशोधन र शासकीय स्वरूप फेर्ने अधिकार वर्तमान अन्तरिम सरकारलाई नरहेको पनि उनको भनाइ छ।

प्रधानमन्त्री सुशीला कार्की

कार्कीले भ्रष्टाचार न्यूनीकरण, विधिको शासन, सामाजिक न्यायको प्रत्याभूतिलगायत क्षेत्रमा वर्तमान सरकारले दृढताका साथ काम गर्ने प्रतिबद्धता जनाइन्।

उनले आन्दोलनमा भएको लुटपाट, तोडफोड गर्दा व्यक्तिको घरमा देखिएको नगद र सम्पत्तिमा सरकारको निकायले छानबिन गर्न थालिसकेको समेत जानकारी गराइन्। यसैगरी उनले जेनजी आन्दोलनलाई ‘अभूतपूर्व’ प्रदर्शनको संज्ञा दिँदै आन्दोलनमा दोषी देखिएका सम्बद्ध पक्षलाई सख्त कारबाही गरिने बताइन्।

प्रकाशित: ११ असोज २०८२ १९:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast