फुटबल खेल्दा कुटाकुट हुँदा ४ घाइते

हिमाल प्रेस ११ असोज २०८२ ७:५९
14
SHARES
फुटबल खेल्दा कुटाकुट हुँदा ४ घाइते

काठमाडौँ– मुगुको सोरु गाउँपालिका भिइमा आयोजना गरिएको फुटबल खेलको सुरुआतमै आपसी कुटाकुट हुँदा चार जना घाइते भएका छन् । घाइते भएका तीन जनालाई हेलिकप्टरमार्फत प्रदेश अस्पताल कालागाउँ लगिएको प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले बताए ।

वडादसैँका अवसरमा अलस्टार युवा क्लबद्वारा आज आयोजित उक्त फुटबल प्रतियोगिताको औपचारिक कार्यक्रमको सुरुमै आपसी झडप भएको थियो । उक्त गाउँपालिका– ३ का पवन कार्कीलगायतको टिमले धारिलो हतियार प्रहार गर्दा सोही वडाका प्रकाश धामी, प्रकाश कार्की, जीवन धामी र हिक्मतजङ्ग धामीलाई गम्भीर चोट लागेको थियो । झडपमा परी गम्भीर घाइते भएकामध्ये तीन जनालाई गाउँपालिकाको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले हेलिकप्टरमार्फत उपचारका लागि प्रदेश अस्पताल पुर्‍याएको प्रजिअ खत्रीले बताए ।

उक्त घटनाबारे वडाध्यक्ष सिंहबहादुर धामीले घटनास्थलमा आफू नभएकाले खासै जानकारी नभएको बताए । तर, गत वर्षको पुरस्कार नदिएको भन्दै यसअघि खेलाडीहरू रिसाएकाले कुटाकुट भएको भन्ने आफूले सुनेको उनले बताए ।

यता घटनाको मुचुल्का गर्न पुगेका सोरुबर्मा प्रहरी चौकी इन्चार्ज देबबहादुर खड्काको टोली घटनास्थल पुगेको छ । तत्काल घटनाको यथार्थबारे केही भन्न नसकिने अवस्था रहेको इन्चार्ज खड्काले बताए ।

प्रजिअ खत्रीका अनुसार उनीहरू उक्त घटना विगतकै विवादका कारण भएको बताए । केही समय अगाडि पनि सो समूहबीच कुटाकुट भएको थियो । तर, आजको घटनामा धारिलो हतियार प्रयोग गर्ने पवन कार्की भनिने व्यक्ति भर्खरै केही महिनाअघि मात्र जेलबाट छुटेको बताए ।

प्रकाशित: ११ असोज २०८२ ७:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast