काठमाडौँमा डेंगु संक्रमण फेरि बढ्दै

हिमाल प्रेस १० असोज २०८२ ११:३८
6
SHARES
काठमाडौँमा डेंगु संक्रमण फेरि बढ्दै

काठमाडौँ- पछिल्ला वर्षहरूमा काठमाडौँमा डेंगु संक्रमण घटबढ भइरहे पनि यो वर्ष संक्रमण फेरि बढ्न थालेको छ। काठमाडौँ महानगरपालिकाभित्र यो वर्ष (पुसदेखि अहिलेसम्म) २४८ जनामा डेंगु पुष्टि भइसकेको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका अनुसार सन् २०२२ मा काठमाडौँभित्र ९ हजार ८८६ जनाको परीक्षणमा डेंगु पुष्टि भएको थियो। त्यसपछि सन् २०२३ मा १ हजार ७१४ जनामा सन् २०२४ मा २ हजार ९८४ जनामा र हालसम्म सन् २०२५ मा २२७ जनामा संक्रमण देखिएको छ।

यद्यपि अस्पतालको तथ्यांकमा संक्रमितको ठेगानामा पालिकाको नाम छुटेको भए पनि अधिकांश संक्रमित काठमाडौँ महानगर क्षेत्रका रहेको उल्लेख छ।

महानगरपालिकाका महामारी रोग नियन्त्रण कार्यक्रमका फोकल पर्सन ऋषिप्रसाद भुसालका अनुसार काठमाडौँमा पहिलो पटक सन् २०१८ (वि.सं. २०७५) मा चमती क्षेत्रमा एक महिलामा डेंगु भेटिएको थियो। त्यसपछि बालाजु क्षेत्रका व्यक्तिमा पनि संक्रमण देखिएको थियो। उनका अनुसार डेंगुको संक्रमण कुनै वर्ष बढी त कुनै वर्ष कम हुने प्रवृत्ति देखिएको छ।

डेंगु फैलाउने एडिस जातको लामखुट्टे सफा जमेको पानीमा बस्ने भएकाले काठमाडौँ महानगरले हाल लामखुट्टेको बासस्थान पहिचान गरी लार्भा नष्ट गर्ने अभियान तीव्र बनाएको छ। यस अभियानमा स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, स्थानीयवासीहरूको सक्रिय सहभागिता छ।

देशभर संक्रमण अझै चुनौती

नेपालमा पहिलो पटक २०६१ सालमा डेंगु देखिएको हो। त्यसयता संक्रमण दर बढ्दो छ। सन् २०२२ मा देशभर ५४ हजार ७८४ जना संक्रमित भएका थिए जसमा ८८ जनाको मृत्यु भएको थियो। सन् २०२३ मा ५२ हजार ७९० संक्रमितमध्ये २० जनाको ज्यान गयो। सन् २०२४ मा भने संक्रमितको संख्या घटेर ६ हजार ८३१ पुगे पनि ४ जनाको मृत्यु भयो।

त्यसअघि सन् २०१९ मा १७ हजार ९९२ जना संक्रमित हुँदा ६ जनाको मृत्यु भएको थियो। सन् २०२० र २०२१ मा करिब ५३० देखि ५४० जनामा संक्रमण देखिएको थियो।

संक्रमण नियन्त्रणमा महानगरको अभियान

महानगरले संक्रमण घटाउन लार्भा नष्ट गर्ने कार्यसँगै जनचेतना अभिवृद्धि पनि गरिरहेको छ। डेंगु नियन्त्रणका लागि नागरिकको सक्रिय सहभागिता अपरिहार्य भएको महानगरको भनाइ छ। महानगरपालिकाले नागरिकका गुनासा, जिज्ञासा र प्रारम्भिक स्वास्थ्य परामर्शका लागि निःशुल्क ११८० नम्बर पनि सञ्चालनमा ल्याएको छ।

लामखुट्टे नियन्त्रणका लागि के गर्न सकिन्छ?

घर वरपर सफा राख्ने,

गमला, टायर, पानी जम्मा हुने भाँडो खाली गर्ने,

कौसी र बरण्डामा पानी जम्न नदिने र

सडक र पेटीका खाल्डाखुल्डीमा पानी नजम्ने व्यवस्था गर्ने।

प्रकाशित: १० असोज २०८२ ११:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast