
काठमाडौँ- चितवनको नारायणघाट-मुग्लिन सडक खण्डअन्तर्गत तुइन खोलामा पहिरोमा फसेका यात्रुलाई गन्तव्यसम्म पुर्याउन निःशुल्क बस सेवा थालिएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनले तुइन खोला नजिकैको पाँच किलो भन्ने स्थानबाट नारायणघाटसम्म निःशुल्क घुम्ती बस सञ्चालन गरेको प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिए।
तनहुँतर्फको बाटो हुँदै पाँच किलोको पुलसम्म पुगेका यात्रुहरूलाई लक्षित गरेर बससेवा सञ्चालनमा ल्याइएको हो। अलपत्रमा परेका चालक तथा यात्रुलाई जिल्ला प्रशासन कार्यालय चितवनको समन्वयमा खाधान्न र प्राथमिक उपचार उपलब्ध गराउने कार्य गरिरहेको छ।
पहिरो पन्छाउनका लागि नारायणघाटतर्फबाट तीनवटा र मुग्लिनतर्फबाट दुईवटा मेसिन परिचालन गरिएको रिजालले जानकारी दिए। मुग्लिन-नारायणघाट सडक खण्डको तुईन खोला पुल नजिकै मंगलबार अपराह्न गएको ठूलो पहिरोका कारण सडक आवागमन बन्द छ।