
काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को केन्द्रीय समितिको विशेष विस्तारित बैठक काठमाडौँमा जारी छ। बैठकमा अध्यक्ष डा.बाबुराम भट्टराईले प्रस्तुत गरेको ‘जेनजी विद्रोह र वैकल्पिक राजनीतिक कार्यभार’ विषयक राजनीतिक प्रतिवेदनमाथि छलफल भइरहेको पार्टीले जनाएको छ।
जेनजी पुस्ताले उठाउँदै आएका प्रमुख मुद्दा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली, भ्रष्टाचारविरुद्ध कठोर कदम र सुशासन कायम गर्ने विषयलाई अध्यक्ष डा.भट्टराईले विगतदेखि नै जोड दिँदै आएका छन्। डा.भट्टराईले अब पार्टीले यसलाई अझै सशक्त रूपमा अघि बढाउनुपर्ने धारणा राखेका छन्।
बैठकमा केन्द्रीय समिति सदस्यहरूसँगै विभिन्न स्तरका प्रतिनिधिहरूले पनि प्रतिवेदनमाथि आफ्नो धारणा राखिरहेका छन्। छलफलपछि प्रतिवेदनलाई परिमार्जन गरी पारित गर्ने तयारी बैठकले गरेको बताइएको छ।
पार्टीले बैठकमार्फत नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने रणनीति तय गर्ने र वैकल्पिक राजनीतिक अभियानलाई जनस्तरमा लैजाने कार्ययोजना बनाउन लागिरहेको नेताहरूले बताएका छन्।