जेनजी आन्दोलन : बाबुराम र हिसिलाका दुई हजार पुस्तक खरानी

हिमाल प्रेस ५ असोज २०८२ १६:०५
52
SHARES
जेनजी आन्दोलन : बाबुराम र हिसिलाका दुई हजार पुस्तक खरानी जोगिएका पुस्तक खोज्दै डा.बाबुराम भट्टराई।

काठमाडौँ- पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईको निवासमा भदौ २४ गते भएको आगजनीमा दुई हजार पुस्तक खरानी भएका छन्। तीमध्ये ८ सय पुस्तक पत्नी हिसिला यमिका थिए।

डा.भट्टराईले हिमालप्रेससँग भने,‘हिसिलाका करिब ८०० र मेरा करिब १२०० गरी दुई हजार पुस्तक खरानी भएका छन्।’ ती पुस्तकका साथै जनयुद्धदेखिका र पार्टीका दस्तावेज, कागजपत्र, डायरी गरी असंख्य सामग्री खरानी भएको उनले बताए।

डा.भट्टराईका अनुसार हिसिलाका महिला आन्दोलन, विचार/दर्शन, इतिहास, राजनीतिसम्बन्धी असाध्यै मेहनतसाथ जीवनभर संगालेका अमूल्य पुस्तकहरू एकैसाथ जलेर नष्ट भएका छन्। ‘मेराचाहिँ विभिन्न कोठामा रहेकामध्ये क्लासिकल किताब (विभिन्न विधाका) खण्ड, धर्म/दर्शन/विचार खण्ड, केही दशकयताका विभिन्न विधाका बेस्ट सेलर पुस्तक खण्ड, राजनीतिक अर्थशास्त्रसम्बन्धी खण्ड, इतिहास/संस्कृति र जातीय विषयसम्बन्धी खण्ड र विविध विषय खण्ड पूरै खरानी भए’, भट्टराईले भने।

आगजनीमा अन्तर्राष्ट्रिय सम्बन्ध र भूराजनीति, साहित्य, जीवनी, केही छानिएका विज्ञान/प्रविधि र विविध पुस्तक मात्र संयोगले बचेका छन्। जेनजी पुस्ताका आन्दोलनका क्रममा अराजक समूहले आगजनी गर्दा भट्टराईको घर खरानी भएको छ।

भदौ २३ र २४ गते देशभर जेनजी पुस्ताले भ्रष्टाचार र सामाजिक सञ्जालविरुद्ध प्रदर्शन गरेका थिए। यस क्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा पनि आगजनी भएका थिए।

डा.भट्टराईले जेनजीले उठाएका मागलाई समर्थन गर्दै भ्रष्टाचार, बेथिति र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिजस्ता मुद्दामा निरन्तर आवाज उठाइरहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast