जंगली हात्ती गाउँ पसेपछि रातभर जाग्राम

हिमाल प्रेस ५ असोज २०८२ ९:२० | Sunday, September 21, 2025
जंगली हात्ती गाउँ पसेपछि रातभर जाग्राम फाइल तस्बिर।

काठमाडौँ- रातिका समयमा हात्तीको बथान बस्तीमा पस्न थालेपछि कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-३ बडुवाल टोलवासी रातभर जाग्राम बस्ने गरेका छन्। दुधुवा राष्ट्रिय निकुञ्जबाट आउने जंगली हात्तीको बथानले गाउँ पसेर अन्नबाली नोक्सान गर्न थालेपछि बडुवावासी समस्यामा परेका हुन् ।

हरेक दिन रातिमा आउने हात्तीको बथानले अन्नबालीमा नोक्सान पुर्याउन थालेपछि यहाँका स्थानीय रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको बडुवालका राम सुनारले जानकारी दिए । ‘मैले साढे चार बिघामा लगाएको धानबालीमा हात्तीले नोक्सान गरेको छ’, उनले भने, ‘खेतमा लगाएको अन्न सखाप परेपछि किनेर खानुपर्ने बाध्यता छ।’

उनले हरेक वर्ष आउने हात्तीको बथानले अन्नबाली र घरमा क्षति गर्ने गरेको बताए। ‘हरेक वर्ष हात्तीले नोक्सानी पुर्‍याउँदै आएको छ, यसको रोकथामका लागि कुनै पहल हुनसकेको छैन’, उनले भने, ‘हात्तीबाट अन्नबाली जोगाउन मुस्किल पर्छ, कहिल्यै खेती सुरक्षित भित्र्याउन पाएका छैनौँ।’

वडुबाल टोलकै सावित्री महताको खेतमा पनि हात्तीले नोक्सान गरेको छ । ‘रातिको समयमा ३०-४० वटा हात्तीको बथान बच्चासहित दिनहुँ बस्तीमा आउँछन्’, उनले भने, ‘बालबच्चा बचाउनु कि अन्न जोगाउनु साह्रै मुस्किल हुन्छ।’

अन्नबालीमात्र होइन हात्तीले घरसमेत भत्काउने गरेको उनले बताए। ‘हात्ती भगाउन आगो बालेर रातभर जाग्राम बस्नुपर्छ,’ महताले भने, ‘हामीलाई हात्तीको धेरै दुःख छ।’

जंगली हात्तीको बथानले हरेक वर्ष खेतबारीको अन्न सखाप गर्न थालेपछि यहाँका स्थानीयले खेती गर्न छाडेका छन्। अधिकांशको जग्गा बाँझो रहेको यहाँका स्थानीय बताउँछन्। ‘मजदुरी गरेर कमाएको पैसाले खेती लगाउँछौँ, खेतमा लगाएको अन्न भित्र्याउन पाइँदैन’, बडुवाल टोलका स्थानीय करणबहादुर कामीले भने, ‘खेती भित्र्याउन नपाएपछि के गर्नु जग्गा बाँझै छ किनेर खानुपर्छ।’

भारतसँग जोडिएको यो बस्तीमा भारतीय सीमा पर्ने भएकाले भारतले तारबार गर्न नदिएको यहाँका स्थानीय बताउँछन्। केही वर्षअघि बस्ती पसेका हात्तीले यहाँ धेरैको ज्यानसमेत लिइसकेकाले स्थानीय सरकारले यसको विकल्प खोज्नुपर्ने स्थानीयको भनाइ छ। कञ्चनपुरको दोधारा चाँदनीलगायत अन्य पालिकामा पनि नोक्सान पुर्‍याउँदै आएको छ। रासस

प्रकाशित: ५ असोज २०८२ ९:२० | Sunday, September 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast