
काठमाडौँ- गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले संविधान दिवसका अवसरमा मुलुकको जटिल परिस्थितिमा राष्ट्रिय एकता कायम गरी संयमतापूर्वक अघि बढ्न सबैलाई आह्वान गरेका छन्।
रासससँग उनले लोकतन्त्रमा बदलाभन्दा कानुनको शासनलाई प्राथमिकता दिनुपर्ने र गल्ती गर्नेले सजाय पाउनुपर्ने बताए। नयाँ पुस्ताले भ्रष्टाचारमुक्त र सुशासनयुक्त नेपाल चाहेको भन्दै त्यसका लागि आन्दोलन उचित भए पनि त्यसक्रममा भएका हिंसात्मक गतिविधि अराजक तत्वको काम भएको उनको भनाइ छ।
‘युवाले शहादत दिए, प्रदर्शनमा नरसंहार भयो। त्यसको जति आलोचना गरे पनि कमै हुन्छ। आन्दोलनको दोस्रो दिन विध्वंशकारी एजेन्टहरू पसे। विध्वंशकारी गतिविधिले राष्ट्रिय सम्पत्तिदेखि लोकतन्त्रका तीनै अंग कार्यपालिका, न्यायपालिका र विधायिकादेखि राष्ट्रपतिको कार्यालयमाथि पनि आक्रमण भयो। देशको सार्वजनिक सम्पत्तिलाई ध्वस्त पारेर व्यावसायिक क्षेत्रका संस्थानमाथि पनि आक्रमण भयो। यस्तो काम अराजक तत्वले मात्र गर्न सक्छ। राष्ट्रको हित सोच्ने नेपाल आमाका सन्तानले यस्तो जघन्य अपराध गर्न सक्दैन। बदमासी गर्नेलाई कानुनले सजाय दिनुपर्छ। तर यसका नाममा राष्ट्रिय एकता खलबल हुनु हुँदैन। हामी सबै मिलेर अगाडि बढौँ,’ उनले भने।
डा.यादवले जघन्य अपराधको न्यायिक छानबिन गरी कानुनसम्मत कारबाही गर्नुपर्ने र संविधानलाई समयअनुसार परिमार्जन गर्दै अघि बढ्नुपर्नेमा जोड दिए। ‘फ्रेस म्यान्डेट’ लिएर आएको नेतृत्वले यही संविधानलाई आधार बनाएर सुधार गर्दै जानुपर्ने उनको सुझाव छ।
उनले संविधान सबै नेपालीको संघर्षको उपलब्धि भएकाले यसलाई बचाउन, लोकतन्त्र, संघीयता, समावेशिता र धर्मनिरपेक्षताका आधारमा राष्ट्रिय एकतालाई मजबुत बनाउन सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिए।