
काठमाडौँ- युक्रेन-रुस युद्धका कारण युक्रेन सीमामा हिरासतमा रहेका दुईजना नेपालीको उद्धार गरिएको छ। जर्मनीको बर्लिनस्थित नेपाली दूतावासको समन्वयमा उद्धार गरिएका उनीहरू शुक्रबार नेपाल आइपुग्नेछन्। यसरी उद्धार गरिएकामा रौतहटका जयप्रकाश साह र बागलुङका सन्देश केसी छन्।
दुई नेपालीको उद्धारमा सहयोग गर्ने युक्रेनको सीमा सुरक्षा सेवा कार्यालय, गैरआवासीय नेपाली संघ जर्मनी र अन्य निकाय (व्यक्ति) सरोकारवालाहरूलाई नेपाली दूतवासले धन्यवाद दिएको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
परराष्ट्रले नेपाली युवालाई विदेश यात्रा गर्दा सावधानी अपनाउन सचेत गराएको छ। विदेश यात्रा गर्दा सम्बन्धित मुलुकको अध्यागमनलगायत अन्य कानुनको पूर्ण पालना गर्नुपर्छ भन्दै मन्त्रालयले सुझाएको छ, ‘सम्बन्धित मुलुकको कानुन उल्लंघन वा अवज्ञा वा बेवास्ता गर्दा पक्राउ परिने र लामो समय थुनामा बस्नुपर्ने अवस्था आउने एवं ज्यानसमेत जोखिममा पर्नसक्ने हुन्छ।’
मन्त्रालयले कुनै पनि नेपालीले यस्तो विषयमा हेलचेक्र्याइँ गर्न नहुने स्पष्ट पारेको छ। यस्ता कारणले पक्राउ परेकाहरूको उद्धार प्रक्रिया निकै असहज हुन्छ। विभिन्न प्रकारका प्रलोभन र बहकाउका सम्बन्धमा सचेत हुन र यस प्रकारको कुनै पनि कार्यमा संलग्न नहुन मन्त्रालयले आग्रह गरेको छ।
नेपालबाट विभिन्न लोभलालच देखाएर विदेश लैजाने पुरानै चलन हो। यसमा अबका युवा पर्न हुँदैन। पहिला जानकारी नहुँदा समस्या हुन्थ्यो। अहिले त सबै जानकारी यहीँबाट लिन सकिन्छ। त्यसैले पनि यस्तो कार्यमा ध्यान दिन जरुरी छ। जर्मनीका लागि नेपाली पूर्वराजदूत रामकाजी खड्काले २०७८ को फागुनदेखि उद्धार कार्य अघि बढाएका थिए।
खड्का त्यहाँ राजदूत रहँदा कैयौँको उद्धार गरेका थिए। रुस-युक्रेन द्वन्द्वबाट प्रभावित अधिकांश नेपालीको उद्धारकार्य उनको समयमा पटकपटक भएको हो। युद्धको थालनीमै धेरै नेपालीको उद्धार गर्नुपर्ने थियो। रुस-युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति बनेको थियो। तत्कालीन राजदूत खड्काले उक्त समितिलाई जानकारी गराउँदै धेरै नेपालीको उद्धार गरेका थिए।
त्यतिबेला अन्य मुलुकको तुलनामा नेपालीको उद्धार कार्य निकै छिटो भएको थियो। युद्ध सुरु भएपछि युक्रेनमा रहेका नेपाली आफ्नो ज्यान बचाउन पोल्यान्ड, स्लोभाकिया, हंगेरी, स्पेन, जर्मनी, रोमानिया र माल्दावालगायतको मुलुकमा पुगेका थिए। कैयौँ नेपाली अझै पनि रुस र युक्रेनको युद्धको चेपुवामा छन्। उद्धार निरन्तर भइरहने पनि मन्त्रालयले जनाएको छ।