जनमतले फेरि सोध्यो मुख्यमन्त्री सिंहसँग स्पष्टीकरण

हिमाल प्रेस २ असोज २०८२ १५:१०
22
SHARES
जनमतले फेरि सोध्यो मुख्यमन्त्री सिंहसँग स्पष्टीकरण

काठमाडौँ- जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई तीनदिने स्पष्टीकरण सोधेको छ। सरकारबाट बाहिरिने निर्णय भइसक्दा पनि हालसम्म राजीनामा नदिएको भन्दै जनमत पार्टीले मुख्यमन्त्री सिंहसँग स्पष्टीकरण सोधेको हो।

जनमत पार्टी मधेश प्रदेश संसदीय दलले केही दिनअघिसरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको थियो। संसदीय दलले निर्णय गरीसके पनि मुख्यमन्त्री सिंह अझै सरकारको नेतृत्व छोडेका छैनन्। सरकारको नेतृत्व नछोडेपछि जनमत पार्टीले उनीसँग स्पष्टीकरण सोधेको हो।

‘जनमत पार्टी मधेश प्रदेश संसदीय दलले मधेश सरकारमाथि विश्वास नरहेको भनी जनमत पार्टी मधेश सरकारबाट बाहिरिने र मुख्यमन्त्रीसहितका आफ्नो पार्टीका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णग गरी मुख्यमन्त्रीसहित मन्त्रीहरूलाई मधेश प्रदेश सरकारबाट राजीनामा दिन निर्देशन दिएको र तपाईँ स्वयं फेसबुकमार्फतबाट राजीनामा दिएकोमा सोको समेत अवहेलना गर्दै तपाईँले मुख्यमन्त्री पदबाट राजीनामा नदिएको, उल्टा अरू पार्टीहरूसँग साँठगाँठ गरी पार्टीको हितविपरितका गतिविधिमा संलग्न भएको, पार्टीमा आघात हुने गरी कार्य गरेको, पार्टीको छविलाई आँच पु¥याएकोले जनमत पार्टीको विधानको धारा… बमोजिम तपाईँलाई पार्टीको संसदीय दलको तर्फबाट प्रदेशसभा सदस्य तथा पार्टीको साधारण सदस्यसमेत नरहने गरी किन कारबाही नहुनुपर्ने हो तीन दिनभित्र स्पष्टीकरण पेस गर्न हुन अनरोध छ,’ केन्द्रीय अनुशासन समितिका संयोजक नरेन्द्रप्रसाद चौधरीले सोधेको स्पष्टीकरणमा भनिएको छ।

जेनजी आन्दोलनका क्रममा मुख्यमन्त्री सिंहले सामाजिक सञ्जाल फेसबुकमार्फत पदबाट राजीनामा दिएको घोषणा गरेका थिए। तर, आन्दोलन साम्य भएपछि उनले औपचारिक रूपमा राजीनामा नबुझाएपछि चौतर्फी आलोचना भएको थियो। त्यसपछि जनमत प्रदेश संसदीय दलले समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णयसहितको पत्र प्रदेश प्रमुख कार्यालयमा पठाएको थियो।

यसका बाबजुद मुख्यमन्त्री सिंहले पदबाट राजीनामा नदिएपछि जनमत पार्टीले स्पष्टीकरण सोधेको हो। जनमत स्रोतका अनुसार स्पष्टीकरण सोधेर जनमत पार्टीले मुख्यमन्त्री सिंहलाई कारबाही गर्ने तयारी थालेको हो। साधारण सदस्यसमेत नरहने गरी कारबाही भए मुख्यमन्त्री सिंहको प्रदेशससभा सदस्य गुम्ने जोखिम बढेको छ।

जनमत पार्टीले मधेशका मुख्यमन्त्री सिंहसँग दोस्रोपटक स्पष्टीकरण सोधेको हो। यसअघि पनि पार्टी हितविपरित काम नगरेको भन्दै जनमतले सिंहसँग स्पष्टीकरण सोधेको थियो।

प्रकाशित: २ असोज २०८२ १५:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast