जेनजी आन्दोलनलाई बेवास्ता गर्ने अहंकारकै कारण आजको संकट : अध्यक्ष नेपाल

हिमाल प्रेस १ असोज २०८२ १५:०७ | Wednesday, September 17, 2025
जेनजी आन्दोलनलाई बेवास्ता गर्ने अहंकारकै कारण आजको संकट : अध्यक्ष नेपाल माधवकुमार नेपाल

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जेनजी आन्दोलनका जायज मागहरूलाई समयमा सम्बोधन नगरी तत्कालीन सत्ताधारीहरूले देखाएको अहंकारकै कारण अहिलेको परिस्थिति सिर्जना भएको बताएका छन्। आज वक्तव्य जारी गर्दै उनले जेनजी आन्दोलन प्रारम्भ हुनु अघि नैआफ्नो पार्टीले ती मागहरूलाई समर्थन र ऐक्यबद्धता जनाएको दाबी गरेका छन्।

वक्तव्यमा भनिएको छ,‘जेनजीका जायज मागलाई समयमा सम्बोधन गर्नुको सट्टा तत्कालीन सत्ताधारीको अहंकारका कारण धेरै होनहार युवाले शहादत दिनुपर्‍यो र देशले अपूरणीय क्षति बेहोर्नुपर्‍यो। लोकतान्त्रिक गणतन्त्र स्थापना भएपश्चात पनि जनताको चाहना अनुरूप पारदर्शी र जनउत्तरदायी शासन कायम नहुँदा आजको आक्रोश र निराशा उत्पन्न भएको हो भन्ने तथ्यलाई स्वीकार गर्नुपर्छ।’

युवाको जीवनशैली र नेताहरूको व्यवहारबीचको दूरी, बढ्दो भ्रष्टाचार, कुशासन, बेरोजगारी, वैदेशिक पलायन तथा रूपान्तरणको बाटोमा अघि बढ्न नचाहने कार्यशैलीले पनि संकट निम्त्याएको उल्लेख गरिएको छ। वक्तव्यमा थप भनिएको छ,‘अहिले अन्तरिम सरकार गठन भइसकेको छ र निर्वाचन मिति समेत तोकिएको छ। अतः इतिहासका कमजोरीको वस्तुनिष्ठ समीक्षा गर्दै शान्ति, स्थिरता, विकास, सुशासन र व्यापक रोजगारीको व्यवस्था गर्न सकिए मात्र शहादत प्राप्त युवाप्रति साँचो श्रद्धाञ्जली हुनेछ।’

अध्यक्ष नेपालले युवा पुस्तासँगै सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, राज्य र निजी क्षेत्रलगायत सबै अंगबीच सहकार्य आवश्यक रहेको बताए।

प्रकाशित: १ असोज २०८२ १५:०७ | Wednesday, September 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast