संविधान दिवस मनाउने सरकारको तयारी, टुँडिखेलमा हुने समारोहलाई प्रधानमन्त्री कार्कीले सम्बोधन गर्ने

हिमाल प्रेस १ असोज २०८२ १४:५५
28
SHARES
संविधान दिवस मनाउने सरकारको तयारी, टुँडिखेलमा हुने समारोहलाई प्रधानमन्त्री कार्कीले सम्बोधन गर्ने

काठमाडौँ- विषम परिस्थितिका बाबजुद सरकारले यस वर्ष पनि संविधान दिवस औपचारिक रूपमा मनाउने भएको छ। २०७२ असोज ३ गते संविधान जारी भएको सम्झनामा हरेक वर्षजस्तै यस वर्ष पनि संविधान दिवस मनाउन लागिएको हो।

परम्पराअनुसार संविधान दिवस मूल समारोह समितिको अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ। त्यसअनुसार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन भइसकेको थियो। समितिको बैठक बसेर संविधान दिवस मनाउनका लागि राज्यका सबै निकायलाई परिपत्र गरिसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

गृह मन्त्रालयका सहसचिव एवम् आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख ऋषिराम तिवारीका अनुसार यसअघि जस्तै यस वर्ष पनि सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरिनेछ।

राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाललगायत संवैधानिक परिषद्का पदाधिकारी तथा विशिष्ट व्यक्तिलाई निम्तो पठाइसकिएको छ। साथै, नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीसँग समन्वय गरेर संविधान दिवसका विभिन्न कार्यक्रम तय गरिएका छन्।

संविधान दिवसको समारोहमा प्रधानमन्त्रीको सम्बोधन हुने परम्परा छ। त्यसलाई निरन्तरता दिँदै अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले यसपटक सम्बोधन गर्नेछिन्। कार्यक्रममा प्रमुख अतिथि राष्ट्रपति रामचन्द्र पौडेल रहनेछन्।

प्रधानमन्त्रीको अध्यक्षतामा रहने मूल आयोजक समितिमा नेपाल सरकारका मन्त्री, काठमाडौँ महानगरपालिकाका प्रमुख, मुख्यसचिव, प्रधानसेनापति, ललितपुर महानगरपालिकाका प्रमुख, विभिन्न मन्त्रालयका सचिव, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, प्रमुख अनुसन्धान निर्देशक तथा उपत्यकाका अन्य नगरपालिकाका प्रमुख सदस्य रहने व्यवस्था गरिएको छ। गृहसचिव समितिको सदस्यसचिव हुनेछन्।

काठमाडौँ उपत्यका बाहिरका जिल्लामा आयोजना हुने संविधान दिवस कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा सञ्चालन हुनेछ। त्यस्ता समितिमा स्थानीय पालिका प्रमुख तथा सरोकारवाला निकायका प्रतिनिधि रहनेछन्। स्थानीय तहमा भने सम्बन्धित गाउँपालिका वा नगरपालिकाका प्रमुख/अध्यक्षको अध्यक्षतामा आयोजक समिति रहने व्यवस्था गरिएको छ।

प्रकाशित: १ असोज २०८२ १४:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast