
काठमाडौँ- जेनजी आन्दोलनमा ज्यान गुमाएकामध्ये १० जनाको मंगलबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। त्रिवि शिक्षण अस्पतालमा रहेका ९ र पाटन अस्पतालमा रहेका १ गरी १० जनाको मंगलबार अन्त्येष्टि गरिएको हो।
आन्दोलनमा ज्यान गुमाएका रसिक खतिवडा, गौरव जोशी, दिपेश सुनुवार र विनोद महर्जनको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको हो। आर्यघाटमा सशस्त्र प्रहरीको टोलीले सलामी अर्पण गरेको थियो भने ऊर्जामन्त्री कु्लमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रिय झण्डा ओढाएर सम्मान अर्पण गरेका थिए। त्यसअघि शिक्षण अस्पतालदेखि आर्यघाटसम्म शवयात्रा निकालिएको थियो।
सन्तोष विश्वकर्मा, प्रविन कुलुङ, सारकुमार राई, छत्रमान कुथुमी, साजन राई र विजय चौधरीको गरी ६वटा शव हेलिकोप्टरबाट गृहजिल्ला लगिँदै छ।
यसअघि नै जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका केही मृतकको दाहसंस्कार भइसकेको छ। सरकारले साेमबार आन्दोलनका क्रममा मृत्यु भएकाहरूलाई सहिद घोषणा गर्दै राष्ट्रिय सम्मान दिएर अन्त्येष्टि गर्ने निर्णय गरेको थियो।
यस्तै, मृतकका परिवारलाई १० लाख क्षतिपूर्ति र अन्य खर्चबापत ५ लाख गरेर १५ लाख रुपैयाँ दिने र असोज १ गते शोक दिवस मनाउने निर्णय पनि सरकारले गरेको छ। जेनजी आन्दोलनमा ७३ जनाको मृत्यु भएको छ।