
काठमाडौँ- काठमाडौँको लैनचौरस्थित ‘एनसेल आइकन’ भवनमा भदौ २४ गते भएको तोडफोड, आगजनी र लुटपाट घटनामा एनसेलले जिल्ला प्रहरी कार्यालय काठमाडौँमा उजुरी दर्ता गराएको छ। जेनजी प्रदर्शन तथा आन्दोलनको नामा विभिन्न अपराधि समूहले मौका छोपी कार्यालयमा प्रवेश गरी तोडफोड, आगजनी र डकैती गरेको भन्दै एनसेलले उजुरी दर्ता गरेको हो।
घटनामा कम्पनीको सम्पत्तिमा ठूलो क्षति भएको एनसेलले जनाएको छ। कम्पनीले घटनामा संलग्नलाई पक्राउ गरी कानुनी कारबाही गर्न, लुटपाट गरी लगिएका सामान फिर्ता गराउन तथा आगजनीबाट भएको क्षतिपूर्ति दिलाउन माग गरेको छ।
एनसेलले जनाएअनुसार सुरक्षाकर्मीलाई धम्की दिई कोठामा थुनेपछि उक्त समूहले भवनको अगाडिको सिसा फुटाएर भित्र प्रवेश गरेको थियो। त्यसपछि भुइँतलामा रहेको ग्राहक सेवा केन्द्र, रिसेप्सन तथा अन्य तलामा रहेका कार्यालय सामग्री तोडफोड र आगजनी गरिएको एनसेलले जनाएको छ। त्यो समूहले कम्पनीका कागजात, प्रमाणपत्र, अनुमतिपत्र, नगद र सोफासमेत लुटपाट गरेको उजुरीमा उल्लेख छ।
त्यसैगरी दसौँतलामा रहेका बहुमूल्य विद्युतीय उपकरण, कम्प्युटर, टिभी, कफी मेसिन, फिटनेस सामग्रीलगायत लुटपाट गरिएको एनसेलले जनाएको छ। कम्पनीका आफ्नै तथा भाडामा लिएका महँगा सवारीसाधन आँगन र सडकमा ल्याई आगजनी गरी पूर्णरूपमा ध्वस्त पारिएको, कर्मचारीका गाडी पनि तोडफोड गरिएको उजुरीमा भनिएको छ।
एनसेलले घटनामा भएको क्षतिको विवरण र लुटिएका सम्पत्तिको सूची प्रहरीलाई उपलब्ध गराएको छ। साथै सम्पूर्ण सीसीटीभी फुटेज अनुसन्धानका लागि प्रहरीलाई उपलब्ध गराइएको एनसेलले जनाएको छ। कम्पनीले क्षतिको वास्तविक मूल्यांकन भइरहेको र अनुसन्धानको क्रममा थप विवरण उपलब्ध गराउने जानकारी दिएको छ।