
काठमाडौँ- देशभर भएका आन्दोलन र प्रदर्शनका घटनाले मुलुकमा गहिरो असर पारेको भन्दै नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले शोक र संवेदना प्रकट गरेको छ। विज्ञप्ति जारी गर्दै नाडाले आन्दोलनका क्रममा ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
नाडाले अटोमोबाइल क्षेत्र उद्योग, व्यापार र रोजगारीको महत्वपूर्ण आधारशिला भएकाले हालका घटनाक्रमले यस क्षेत्रमा प्रत्यक्ष असर पारेको जनाएको छ। कर्मचारी, ग्राहक र संरचनाको सुरक्षाप्रति चिन्ता बढेको भन्दै उपभोक्ता विश्वासमा नकारात्मक असर परिरहेको नाडाको भनाइ छ। यसले दीर्घकालीन रुपमा लगानी र रोजगारीमा चुनौती थपेको नाडाको निष्कर्ष छ।
‘हामी शान्तिपूर्ण संवाद र सहमतिको बाटोबाट जटिल समस्या समाधान गर्न सकिन्छ भन्ने विश्वासमा छौं,’ विज्ञप्तिमा उल्लेख छ, ‘व्यवसायिक समुदायको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राखी अटोमोबाइल क्षेत्रलाई सामान्य अवस्थामा फर्काउन सरकारले आवश्यक सहयोग र सहजीकरण गर्नुपर्छ।’
नाडाले सदस्य कम्पनीहरूको हित, उपभोक्ताको विश्वास र अटोमोबाइल उद्योगलाई सुरक्षित राख्ने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, मुलुक छिट्टै स्थायित्वतर्फ अघि बढ्नेमा विश्वास समेत प्रकट गरिएको छ।नेपालको इतिहासमा पहिलो पटक महिला प्रधानमन्त्री बनेको प्रसंग उल्लेख गर्दै नाडाले आगामी मन्त्रिपरिषद् गठन र ६ महिनाभित्र आम निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी यस सरकारले सफलतापूर्वक पूरा गर्ने शुभकामना समेत व्यक्त गरेको छ।