
काठमाडौँ- जेनजीको नेतृत्वमा भएको विशाल प्रदर्शपछि नेपाली राजनीतिमा उथलपुथल भएको छ।
झन्डै दुईतिहाई सांसदको प्रतिनिधित्व गरेको सरकार ढलेको छ भने पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बनेकी छन्। पहिलो पटक महिला प्रधानन्यायाधीश भएर इतिहास रचेकी कार्कीले फेरि पहिलो महिला प्रधानमन्त्री बनेर दोहोरो इतिहास बनाएकी छन्।
त्यसाे त, जेनजी आन्दोलन निश्चित उमेर समूहका व्यक्तिमा सीमित थियो। तर आन्दोलनले सबै क्षेत्रका व्यक्तिको समर्थन पायो। त्यसैले त दुई दिने आन्दोलनले परिणाम निकाल्यो।
`फिल्मी शैली´मा भएको परिवर्तनका विषयमा फिल्म क्षेत्रकै व्यक्तिको समेत साथ थियो। कोही सडकमार्फत त कोही नैतिक रूपमा फिल्मीकर्मी जेनजीको समर्थनमा थिए। यो आमूल परिवर्तनपछि फिल्मीहरूले सकारात्मक प्रतिक्रिया दिइरहेका छन्।
फलस्वरूप अन्तरिम सरकारका लागि प्रधानमन्त्री कार्कीले शपथ लिएपछि उनलाई वरिष्ठ, चल्तीका र नवकलाकारले बधाईसहित कार्य सफलताको शुमकामना दिएका छन्।
वरिष्ठ अभिनेता हरिवंश आचार्यले कार्कीको नेतृत्वले भ्रष्टाचार र देशको बेथितिविरुद्ध उभिएका युवाहरूको सपना पूरा गर्ने प्रणालीको विकास गर्न सबैको साथ अपरिहार्य रहेको बताएका छन्। देशले भोगेको ठूलो जनधनको क्षतिले नेपाल आमाको आँखा बगिरहेको समयमा देश सम्हाल्न स्वच्छ छवि लिएर कार्की उभिनु आशाको किरण बनेको उनको आशय छ।
‘देशले भोगेको ठूलो जनधनको क्षतिले नेपाल आमाको आँखा बगिरहेको बेला देश सम्हाल्न स्वच्छ छवि लिएर उभिनुभएकी प्रथम महिला प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्व भ्रष्टाचार र देशको बेतिथिविरुद्ध उभिएका युवाहरूको सपना पूरा गर्ने प्रणालीको विकास गर्न हामी सबैको साथ अपरिहार्य छ,’ उनले लेखेका छन्।
वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठले प्रधानमन्त्री कार्कीको नेतृत्वले देशलाई नयाँ दिशा दिनेछ भन्ने कामना गरेका छन्। साथै उनले जनताको अपेक्षा र भरोसा, देशको समृद्धि र स्थायित्वका लागि कार्कीको योगदान उदाहरणीय बनोस् भन्ने कामना पनि गरेका छन्।
वरिष्ठ अभिनेत्री मिथिला शर्माले कार्कीलाई इतिहास रच्न सफल पहिलो महिला प्रधानमन्त्री भन्दै बधाइसहित शुभकामना दिएकी छन्। अभिनेत्री प्रियंका कार्कीले नयाँ सुरुवात भनेकी छन्। त्यस्तै अभिनेता तथा फिल्म निर्देशक निश्चल बस्नेतले जेनजी पुस्ताले इतिहास बनाएको भनेका छन्।
फिल्म निर्देशक तथा अभिनेता दीपकराज गिरीले कार्कीलाई आमाको सम्बोधन गर्दे सन्तानका पीरहरू बोकी हेर्न आग्रह गरेका छन्। उनले लेखेका छन्, ‘आमा भएर बोकी हेर सन्तानका पीरहरू! शुभकामना!’
अभिनेता प्रदीप खड्काले नयाँ सरकारलाई देश र जनताका लागि आफ्नो जिम्मेवारी पूरा गर्न शक्ति र साहसको कामना गरेका छन्।
अभिनेत्री स्वस्तिमा खड्काले पहिलो महिला प्रधानमन्त्री पाएकोमा गौरवसहित नयाँ युगको सुरु भएको महसुस गरेको बताएकी छन्। ‘एक जुगमा, एक दिन एकचोटि आउँछ, उलटपुलट, उथलपुथल, हेरफेर ल्याउँछ,’ उनले लेखेकी छन्, ‘हामीले नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीज्यूलाई पाएकोमा गौरव महसुस भएको छ। नयाँ युगको सुरुवात।’
अभिनेता अनमोल केसीले आफ्नो पुस्ताको साहसले नै नेपालमा पहिलो महिला प्रधानमन्त्रीमा इतिहास रच्न सफल भएको बताएका छन्। उनले साहसी र युगान्तकारी परिवर्तनको साक्षी बन्न पाएकोमा साँच्चिकै गर्व लागेको धारणा व्यक्त गरेका छन्। युवाको सही हस्तक्षेपले जतिसुकै जरा गाडेको भए पनि खराब व्यवस्था जरैदेखि उखेलेर फ्याँक्न सक्छ। तर हामीले यसका लागि चुकाउनुपरेको मूल्यलाई कहिल्यै बिर्सनु हुँदैन,’ उनले लेखेका छन्। यो अन्त्य नभएर नयाँ नेपालको सुरुवात भएको भन्दै उनले आन्दोलनमा ज्यान गुमाएका वीर दाजुभाइदिदीबहिनीहरूको सपना सबैले पूरा गर्ने र देश न्याय, समानता र समृद्धिको जगमा बन्ने आशा व्यक्त गरेका छन्।
जेनजीको आन्दोलनले पुराना दलको मनोमानी भत्काएर देशलाई पहिलो महिला प्रधानमन्त्री दिएको अभिनेत्री आँचल शर्मा दवाडीले बताएकी छिन्। ‘यो केवल नेतृत्वको परिवर्तन होइन, आशा र सम्भावनाको नयाँ ढोका हो,’ उनले लेखेकी छन्। उनले भदौ २७ लाई पितृसत्ताले जकडेको राजनीतिमा महिलाले निर्णायक ठाउँ पाएको ऐतिहासिक क्षण भनेकी छन्। ‘अब देशको कथा पुराना सोचले होइन, नयाँ पुस्ताको सपना र महिलाको नेतृत्वले लेखिने भन्दै उनले प्रधानमन्त्रीले ५१ जना सहिद र उहाँहरूको परिवार सम्झेर सहादत व्यर्थ नजाने गरी उदाहरणीय काम गर्नु हुनेछ भन्ने कामनासमेत गरेकी छन्।
त्यस्तै अभिनेता नाजिर हुसेनले जेनजीको जीतलाई एउटा इतिहासको सुरुवातको रुपमा लिएका छन्। ‘आशा र विश्वास छ, एउटी आमाले अरु आमाहरूको कोख रित्तिएको सजिलै बिर्सिन्नन् र आफ्नो छोरा छोरीले चाहेको, देखेको सपना पूरा गर्न निडर, निरन्तर लाग्ने छिन्। अब यो नयाँ युग हो,’ उनले लेखेका छन्।
प्रधानमन्त्री कार्कीलाई स्वागत स्वरुप अभिनेत्री मिरुना मगरले जेनजीको आन्दोलनको प्रभावपछि सबै नागरिक आगामी दिनमा अझ सचेत रहन प्रेरित गरेको बताएकी छन्। साथै, उनले युवाको जागरुकताले नै नयाँ नेपाल बन्ने धारणा राखेकी छन्।
अभिनेता तथा गायक प्रकाश सपुतले नयाँ युगको सुरुसँगै अब आशाको गीत गाऔं भन्दै बधाई दिएका छन्। साथै उनले ठूलो बलिदानी र प्रक्रियापछि बनेको नयाँ संविधानको पनि संरक्षण भएको बताएका छन्।
‘सबैभन्दा सुन्दर कुरा भनेको ठूलो बलिदानी र प्रक्िरयापछि बनेको नयाँ संविधानको पनि संरक्षण भएको छ। यो सोच र संयमतापूर्वक गरिएको निर्णयका लागि जेनजी अझै परिपक्व देखियो। अघिल्लो सबै पुस्ताको मन र मान राख्यो। बडो मजा आयो,’ उनले लेखेका छन्, ‘ल अब आशाको गीत गाऔँ। परिवर्तन एउटा प्रोसेस हो। यसले समय लिन्छ। आजको भोलि सबै ठिक ठाक भैहाल्छ भन्ने छैन।’
अन्तरिम सरकार गराउने चुनावमा सबैले सही मान्छे चुनेपछि मात्र युवाले चाहेको नयाँ नेपालमा पुगने बताएका छन्। उनले थप लेखेका छन्, ‘आशा छ, स्टेरिङ सही मान्छेको हातमा सुम्पिनेछौँ, जसको ड्राइभिङमा नेपाल गुड्नेछ र हामीले चाहेको जस्तो नयाँ नेपालसम्म पुग्नेछ। त्यसैले अब आशाको गीत गाऔँ। आफूले जे गरिराख्नु भएको छ, त्यसमै लागौँ। सामाजिक सञ्जालमा सकारात्मकता र व्यवहारमा मानवता प्रवर्ध गरौँ। सबै आफ्नो लयमा फर्कौँ।’