
काठमाडौँ- जेनजी आन्दोलनका क्रममा देशभर भएको जनधनको क्षतिप्रति निजी क्षेत्रका छाता संस्थाहरुले दुःख व्यक्त गर्दै तत्काल नवनिर्माण र पुनःनिर्माणमा जुट्न सार्वजनिक अपिल गरेका छन्।
नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार विज्ञप्ति जारी गर्दै आन्दोलनका क्रममा भएका आगजनी तथा तोडफोडबाट अपूरणीय क्षति भएकामा दुःख व्यक्त गरेको छ। महासंघले निर्वाध पेसाव्यवसाय सञ्चालनका लागि आवश्यक सुरक्षा माग गर्दै निजी क्षेत्रले बजारमा उपयोग्य वस्तुको अभाव हुन नदिन व्यवसायीलाई आग्रहसमेत गरेको छ।
‘उद्योग, प्रतिष्ठान, कार्यालय एवं निवासमा समेत तोडफोड एवं आगजनीका घटना भएका छन्। यसरी व्यक्तिगत एवं व्यावसायिक सम्पत्तिमाथि भएका तोडफोडका घटनाको महासंघ भर्त्सना गर्दछ। साथै महासंघ व्यावसायिक एवं व्यक्तिगत सम्पत्तिमाथि आगामी दिनमा आक्रमण नहुने सुनिश्चितताका लागि सबैको ध्यानाकर्षण गराउन चाहन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘उद्योग व्यवसाय प्रतिष्ठानमा मुलुकभर नै अर्बौँको क्षति भएको छ। यसबारे महासंघले थप विवरण संकलन गरिरहेको भए तापनि क्षतिका कारण राजस्व र कुल गार्हस्थ उत्पादनमै गम्भीर असर पर्ने प्रारम्भिक आकलन गरिएको छ।’
देशको समुन्नतिका लागि अन्योल अन्त्य भएर सुशासन कायम गर्ने कार्यमा समन्वय एवं सहकार्य गर्न निजी क्षेत्र तयार रहेको पनि महासंघले जनाएको छ। उद्यम व्यवसाय सञ्चालनका लागि सुरक्षाको प्रत्याभूति गरिनुपर्ने महासंघको भनाइ छ।
‘नवनिर्माण एवं पुनःनिर्माणका लागि आगामी दिनमा आवश्यक पर्ने बजेटको मुख्य स्रोत निजी क्षेत्र रहेको हुँदा उद्यम व्यवसायको निर्बाध सञ्चालन गर्न आवश्यक शान्तिसुरक्षाको व्यवस्थाका लागि महासंघ आग्रह गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘निजी क्षेत्रका गतिविधि निर्बाध रूपमा सञ्चालन हुन नसकेमा अर्थतन्त्रमा थप समस्या हुने र आगामी दिनमा राजस्वमा समेत नकारात्मक प्रभाव पर्न जानेछ।’
निषेधाज्ञा एवं कर्फ्युका समयमा अत्यावश्क सेवा तथा पेसाकर्मीको आवतजावत एवं औषधि, खाद्यान्न, दूध, पानी फलफूल तरकारी, पेट्रोलियम पदार्थ आदिको ओसारपसार सहजीकरणका लागि पनि महासंघले आग्रह गरेको छ।
गुणस्तरीय सामानको नियमित आपूर्ति गरी बजारमा अभाव सिर्जना हुन नदिनेतर्फ देशैभरका उद्यमी व्यवसायीलाई अपिल गरिएको छ। अत्यावश्यक सामान आयात–निर्यातका लागि भन्सार नाकामा सुरक्षा दिई पुनः सञ्चालन गर्ने वातावरण निर्माणका लागि पनि महासंघले आग्रह गरेको छ।
नेपाल चेम्बर अफ कमर्सले विज्ञप्तिमार्फत आन्दोलनका क्रममा औद्योगिक र व्यावसायिक क्षेत्रमा गम्भीर क्षति भएको जनाउँदै वर्तमान चुनौतीपूर्ण परिस्थितिमा संवाद, सहकार्य र संयमता अपनाउन सरोकार भएका निकायको ध्यानाकर्षण गराएको छ। भ्रष्टाचार निवारण, सुशासन कायम, राज्य संयन्त्रको पारदर्शिता, रोजगारी सिर्जना र सरकारी सेवामा नागरिकको सहज पहुँच जस्ता ‘जेनजी’ले उठाएका विषयलाई सबै सरोकार भएकाले गम्भीरतापूर्वक लिनुपर्ने चेम्बरले अवश्यकता औँल्याएको छ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघले विज्ञप्ति जारी गर्दै विगत केही दिनदेखि मुलुकभर यातायात ठप्प हुँदा दैनिक उपभोग्य सामग्री, कच्चापदार्थ, औद्योगिक उत्पादनदेखि औषधि आपूर्तिसमेत गम्भीर रूपमा प्रभावित भएको जनाएको छ। यसले व्यवसायी, चालक, सहचालक र मजदुरहरूको जीविकामा सङ्कट ल्याएको र नागरिक असाधारण कठिनाइमा परेको पनि महासङ्घले जनाएको छ। यातायात व्यवसायीलाई राज्यले पूर्ण कानुनी सुरक्षा दिनुपर्ने मागसमेत गरिएको छ।