
काठमाडौँ- नेपाली सेनाले साँझ ७ बजेतिर बिहीबारको सुरक्षा अपडेट दिएको छ। सो अपडेटअनुसार काभ्रेपलान्चोक जिल्लाको बनेपा-९ स्थित नयाँ बस्तीमा फेला परेको ८ वटा सकेट बमलाई नेपाली सेनाले सुरक्षित साथ डिस्पोज गरेको छ।
त्यसै गरी सुन्धरा स्थित केन्द्रीय कारागारबाट भागेका ४ जना कैदीबन्दीहरु, डोटीको दिपायल सिलगढी स्थित बाल सुधार गृहबाट भागेका ३ जना बालबन्दीहरु, धादिङ स्थित गजुरीमा रहेको धादिङ कारागारबाट भागेका ३९ जना कैदीहरु र बाँकेको डडुवा स्थित जयन्दु बालसुधार गृहबाट फरार भएका १६ जना बालबन्दीहरु नियन्त्रणमा लिइएको सेनाले जनाएको छ।
बाँके जिल्लाको नेपालगञ्जस्थित जिल्ला कारागारमा होहल्ला तथा आगजनी गरी बाहिर निस्कन खोजेका कैदीबन्दीहरुलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ। सो क्रममा १ जना कैदी घाइते भएका छन्।
ललितपुर जिल्लाको भैँसेपाटी इलाकामा रहेको स्थानीय प्रहरी चौकी स्थानीय व्यक्तिहरुद्वारा सरसफाइ गरी कार्यरत प्रहरीहरुलाई स्वागत गरेका छन्। हालसम्म विभिन्न स्थानहरुबाट ९७ नाल हतियारहरू बरामद भएको छ।