
सिओल- उत्तर कोरियाली नेता किम जोङ उन मंगलबार आफ्नो हरियो रङको बख्तरबन्द रेलमार्फत बेइजिङ पुगेका छन्। दशकौँदेखि उत्तर कोरियाली नेताहरूले प्रयोग गर्दै आएको यो विशेष र ढिलो गतिको यातायात माध्यममा किम अझै भर पर्दै आएका छन्।
विज्ञहरूका अनुसार किमले यात्रा गर्ने बुलेटप्रुफ रेलमा ठूलो संख्यामा टोली, सुरक्षा गार्ड, खानेकुरा र अन्य सुविधाका साथै बैठकअघिका कार्यसूचीमा छलफल गर्न सहज र सुरक्षित वातावरण उपलब्ध हुन्छ।
२०११ को अन्त्यतिर नेतृत्व सम्हालेपछि किमले चीन, भियतनाम र रूस भ्रमणका लागि रेल प्रयोग गरिसकेका छन्। विगतका वर्षहरूमा उत्तर कोरियाली नेताहरूले कति रेल प्रयोग गरेका छन् भन्ने स्पष्ट छैन। तर दक्षिण कोरियाली यातायात विज्ञ आन ब्युङ–मिनका अनुसार सुरक्षाका कारण धेरै रेल प्रयोग गर्नुपर्ने हुन्छ।
प्रत्येक रेलमा १० देखि १५ वटा डब्बा हुने उनले बताए। जसमा केही मात्र नेताका लागि हुन्छन्- शयनकक्षसहित। अरू डब्बामा सुरक्षा गार्ड र स्वास्थ्यकर्मी हुन्छन्।
त्यसमा किमको कार्यालय, सञ्चार उपकरण, रेस्टुरेन्ट साथै दुईवटा बख्तरबन्द मर्सिडिज कारका लागि डब्बा हुन्छन्।
उत्तर कोरिया सरकार नियन्त्रित सञ्चारमाध्यमले मंगलबार सार्वजनिक गरेको तस्बिरमा किमलाई वरिष्ठ अधिकारीहरूसँग हरियो रेलको सुनौलो निसानसहितको डब्बाबाहिर बसेर चुरोट पिउँदै गरेको देखाइएको छ। अर्को तस्बिरमा उनी ठूलो सुनौलो निसान र उत्तर कोरियाली झण्डाबीच काठको प्यानल भएको कार्यालयमा बसेका छन्।
किमको टेबुलमा सुनौलो ढाँचाले सजाइएको ल्यापटप, टेलिफोन, चुरोटको डब्बा र नीलो वा पारदर्शी तरल पदार्थ भएका बोतल देखिन्थे। झ्यालमा नीलो-सुनौलो पर्दा टाँगिएका थिए।
२०१८ मा उत्तर कोरियाली टेलिभिजनले सार्वजनिक गरेको भिडियोमा किमलाई चीनका शीर्ष अधिकारीहरूसँग गुलाबी सोफाले सजिएको फराकिलो रेलभित्र भेटघाट गर्दै देखाइएको थियो।
२०२० मा राज्य टेलिभिजनले देखाएको अर्को भिडियोमा उनले आँधी–बेहरी प्रभावित क्षेत्रको निरीक्षण गर्न रेल चढेको र फूलको आकारका बत्ती तथा जेब्रा–प्रिन्ट गरिएको कुर्सी भएको डब्बाको दृश्य देखाइएको थियो।
रूसी अधिकारी कोन्स्टान्टिन पुलिकोभ्स्कीले २००२ मा प्रकाशित ‘ओरियन्ट एक्सप्रेस’ पुस्तकमा किम जोङ इल (किम जोङ उनका पिता) ले गरेको तीन हप्ते रेलयात्राको विवरण दिएका छन्।
रेलले सीमा कसरी पार गर्छ?
किम २०२३ मा राष्ट्रपति भ्लादिमिर पुटिनसँग शिखर बैठकका लागि रूस गएका बेला उत्तर कोरियाको रेल र रूसको रेलपाटी फरक भएकाले सीमामा पांग्रा फेर्नुपरेको थियो।
चीनको हकमा भने यस्तो आवश्यक पर्दैन। रेल सीमापार गरेपछि चिनियाँ इन्जिनले तान्छ, किनभने स्थानीय इन्जिनियरलाई रेल प्रणाली र सिग्नल थाहा हुन्छ।
कसले प्रयोग गर्छ यी रेल?
उत्तर कोरियाका संस्थापक नेता किम इल सुङ (किमका हजुरबुवा) ले १९९४ मा निधन नभएसम्म आफ्नो शासनकालमा विदेश भ्रमणका लागि रेल प्रयोग गर्थे।
किम जोङ इलले रुस यात्राका लागि पूर्ण रूपमा रेलमात्र प्रयोग गरेका थिए। २००१ मा उनले रेलयात्रा गर्दै मस्को पुगेका थिए। २०११ को अन्त्यतिर रेलमै यात्रा गरिरहेकै बेला उनको हृदयाघातका कारण निधन भएको थियो।