
काठमाडौँ- गुरुङ समुदायको अध्ययन गर्ने व्यक्तिका लागि फिल्म ‘रिमै’ बलियो दस्तावेज हुने अभिनेता दयाहाङ राईले बताएका छन्। उनले उपत्यकामा गरिएको पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताएका हुन्।
साथै अभिनेता राईले ‘रिमै’ लाई नेपाली फिल्म उद्योगकै लागि एउटा दस्तावेज हुने पनि बताए। ‘अहिले त यो फिल्म बन्यो। अब प्रदर्शन हुन्छ। धेरैका लागि यो सामान्य प्रक्रिया हो,’ उनले भने, ‘तर, यो फिल्म भोलिका लागि एउटा बलियो दस्तावेज बन्नेछ। भोलिको पुस्ताले गुरुङ सुमदायको अध्ययन गर्नुपर्याे भने यो एउटा बलियो दस्तावेज हुनेछ।’
ठाउँअनुसार एकै समुदायका मानिसको बोल्ने भाषा पनि फरक हुने भएकोले आगामी पुस्ताको लागि फिल्म उपयोगी हुने उनको भनाइ छ। ‘फरक भूगोलमा बस्ने गुरुङ समुदायको फरक संस्कार र संस्कृति होला। गोरखा र लमजुङमा बोलिने गुरुङ भाषा नै केही फरक छ,’ उनले भने, ‘गोरखाको माथिल्लो बेल्टमा बस्ने गुरुङ समुदायबारे बुझ्नु पर्याे भने यो फिल्म एउटा गतिलो दस्तावेज हुनेछ।’
उनले विस्तारै विभिन्न समुदायका कथा फिल्ममा आउन थालेको बताए। विभिन्न जाति र भूगोलका कथाले नै नेपाली फिल्मलाई समृद्ध बनाउँदै जाने भन्दै उनले भने, ‘रिमैले नेपाली फिल्ममा एउटा आयाम लिएर आएको छ। किनभने यसअघि गुरुङ भाषामा त गुरुङका कथामा फिल्म बनेका छन्। तर, नेपाली भाषामा मुख्य धारमा गुरुङको कथामा फिल्म बनेको छैन।’
गुरुङ भाषामा ‘रिमै’ को अर्थ छोरी/चेली भन्ने हो। गुरुङ समुदायमा कसैले केटीलाई जिस्काएर ‘रिमै’ भन्यो भने त्यो छोरी वा चेली नभएर तरुनी भन्ने अर्थ लाग्छ।
फिल्मकी ‘रिमै’ अर्थात् अभिनेत्री रिश्मा गुरुङ आफ्नो समुदायमा छोरी सबैभन्दा केन्द्रमा हुने बताउँछिन्। ‘अरु समुदायमा बाबु वा आमाको मृत्यु हुँदा अन्तिम संस्कार गर्न छोरा चाहिन्छ, छोरी नभए पनि हुन्छ,’ उनले भनिन्, ‘तर, हाम्रो गुरुङ जातिमा शव उठाउन छोरा नभए पनि हुन्छ तर छोरी अनिवार्य चाहिन्छ। छोरी नभएसम्म घरबाट लास उठाउँनै मिल्दैन।’
यसैकारण गुरुङ जातिमा छोराभन्दा छोरीको महत्व कति धेरै छ, त्यो ‘रिमै’मा देख्न सकिने उनले बताइन्। गुरुङ समुदायको कथामा बनेको बलियो सिनेमा भएकैले आफूले यसमा काम गरेको रिश्माले बताइन्। रिश्मा गुरुङ भाषाकै फिल्मबाट मुख्य भूमिकामा आएकी कलाकार हुन्।
फिल्ममा दयाहाङ राई, अर्पण थापा, रिस्मा गुरुङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बाल–कलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायत कलाकारको अभिनय छ।
खिल बहादुर गुरुङको निर्देशनमा रहेको फिल्मको पटकथा कवि तथा निर्देशक उपेन्द्र सुब्बाको पटकथा लेखेका हुन्।