
काठमाडौँ- पत्रकार तथा कथाकार लक्ष्मण वियोगीको कथासंग्रह ‘सत्यम्’ को विमर्श गरिएको छ। पुतलीसडकस्थित ग्रीन लिफ रेस्टुरेन्टमा आयोजना गरिएको कार्यक्रममा वरिष्ठ साहित्यकार तथा समालोचकहरूले पुस्तकबारे समीक्षात्मक टिप्पणी गरेका हुन्।
१५ कथा समेटिएको कथासंग्रहमा डा. अशोक थापा, डा. शोभा ढुंगाना, टेकनारायण ढकाल, जानुका खतिवडा र देवी तिमल्सिनाले समालोचनात्मक टिप्पणी गरे।
समालोचक डा. थापाले ‘चुन्कीको रहस्य’, ‘छुटेका पानीहाँस’ र ‘क्रमु’ कथामा आफ्नो धारणा राखे। उनले ‘चुन्कीको रहस्य’ मा फरक भाषाबाट कथानक सुरु गरिएकोले यसले पाठकलाई कथाभित्र प्रवेश गर्न सुरुमै बाधा पार्न सक्ने चुनौती देखिएको औंल्याए। उनका अनुसार ‘क्रमु’ मा बाहुन केटो र गुर्सेनी केटीबीचको प्रेममा जातकै कारण विवाहमा परिणत हुन नसकेको यथार्थ प्रस्तुत गरिएको छ। उक्त कथालाई कल्पनाभन्दा माथि उठेर सफल प्रेम देखाउन सकेको भए उत्कृष्ट हुने उनको सुझाव थियो। त्यस्तै उनले ‘छुटेका पानीहाँस’ मा प्रमुख पात्रलाई कुनै गन्तव्यमा नपुर्याइ रहस्यमै छोडिँदिँदा पाठकले खल्लो अनुभूति गर्न सक्ने अनुभूति सुनाए।
अर्की समालोचक डा. शोभा ढुंगानाले ‘स्वप्नलोक’, ‘प्रेत-यान’, ‘चराहरू उडे’ र ‘सौँराई’ कथामा आफ्नो विचार व्यक्त गरिन्। उनले ‘सत्यम्’ नामजस्तै कथाहरू पनि यथार्थपरक रहेको बताइन्। उनले वियोगीका कथामा धेरैजसो माओवादी विद्रोहले जन्माएकाे पीडा र आघात कथामा प्रस्तुत भएको उल्लेख गरिन्। कथाकारले आफू पुरुष भएर पनि विद्रोही युवतीको पीडादायी घटनाको गहिराई समेट्न सफल भएको उनकाे धारणा थियाे।
समालोचक टेकनारायण ढकालले ‘राँके भूतको लीला’, ‘मनफूल झरेपछि’ र ‘हिउँखोलाको आलाप’ कथामाथि आफ्नाे धारणा राखे। देशमा भएको माओवादी सशस्त्र द्वन्द्वको पीडा भोग्ने आफू पनि एक पीडित भएको स्मरण गर्दै उनले कृतिकारले कथालाई न्याय गरेको बताए।
आख्यानकार तथा समालोचक जानुका खतिवडाले ‘टाउको’, ‘रित्तो गुँड’ र ‘बागियान’ कथामा आफ्नो समीक्षात्मक टिप्पणी प्रस्तुत गरिन्। युद्धको पृष्ठभूमिमा आधारित कथामा आञ्चलिकता, स्थानीय बोलिचालीले सबै कथालाई उत्कृष्ट बनाएको भन्दै उनले परिवेशको वर्णनमा कथाकार बढी हाबी भएको औँल्याइन्।
अर्की टिप्पणीकार देवी तिमल्सिनाले ‘ऊ’ र ‘आँसुको लोरी’ कथामा आफ्ना पाठकीय अनुभूति राखेकी थिइन्।
समालोचक महेश पौड्यालले ‘सत्यम्’ ले देश र समाजमा खण्डित हुँदै गएको सत्य देखाएको विश्लेषण गरे। ‘माओवादी आन्दोलन, २०६२/६३ को जनआन्दोनल तथा मधेश आन्दोलन हुँदा गर्दा जे कुरा सत्य भनेर लागियो, त्यो अहिले असत्य सावित हुँदै गएको विषयलाई कथाले व्यङ्ग्यात्मक रूपमा उठान गरेको छ,’ उनले भने, ‘हिजो जे असत्य ठान्यौँ, अहिले त्यही सत्य लागेको विषय पनि छ।’ उनले कथाकार वियोगीले देशको ऐतिहासिक पृष्ठभूमिका घटनाक्रमलाई यथार्थ समयमै टेकेर कथामा बुनेको टिप्पणी गरे। कथा लेखनका क्रममा कथाकारले राजनीतिकवाद वा पक्षधरता देखिने विषयमा जोगिन सक्नुपर्ने पौड्यालकाे धारणा थियाे।
कृतिकार वियोगीतले ६० प्रतिशत कथा आफूले देखे-भोगेकै घटनाकाे आधारमा लेखेको र बाँकीमा कलात्मकता थपेको बताए। उनले पहिलो संस्करणमा देखिएका त्रुटि, कृतिमाथि आएका सल्लाह-सुझावसहितकाे टिप्पणी तथा मार्गनिर्देशलाई आत्मसात् गरेर अघि बढ्ने प्रतिबद्धता जनाए।
प्रा.डा. कुमारप्रसाद कोइरालाले वियोगीको कृतिमा काव्यिक भाषाशैलीको बढी प्रयोग गरिएको औँल्याए। काव्यशैली कम हुन्थ्याे भने पुस्तक पाठकका लागि अझ प्रभावकारी हुने उनको विश्लेषण थियो। उनले भने, ‘वियोगीको कृतिमा काव्यिक भाषाशैलीको बढी प्रयोग गरिएको छ। साथै पात्रहरूले अघि बढाइरहेको कथानकमा लेखकको व्याख्यात्मक हस्तक्षेप बढी देखिएको छ।’
उनका अनुसार ‘सत्यम्’ भित्र माओवादी द्वन्द्वका अभिघात घटना, २०६२/६३ को जनआन्दोलन, मधेश आन्दोलन, पर्यावरण, विज्ञान विषय तथा हिमाल, पहाड र तराईको पृष्ठभूमि समेटिएको छ। त्यस्तै, आञ्चलिकता, वैचारिक, कारुणिक, स्वैरकल्पना, सामाजिक यथार्थ जस्ता विशेषताले कथालाई सशक्त बनाएको उनको समीक्षा थियो।
त्यस्तै डा. तुलसीप्रसाद भट्टराईले ‘सत्यम्’ मा समेटिएका कथाले उत्कृष्ट लेखनको नमुना प्रस्तुत गरेको बताए। ‘लेखनको काव्यिक शैलीले कथालाई छुट्टै पहिचान दिएको छ,’ उनले टिप्पणी गर्दै भने, ‘यस्ता उम्दा प्रतिभावान लेखकले आगामी दिनमा अझ सशक्त साहित्यिक कृति पाठकमाझ ल्याउनुपर्छ।’
कथामा गरिएको ‘प्रवेशिन्थे’, बुर्कुसिनु, ‘लन्ठेभारी’ जस्ता दर्जनौँ नयाँ शब्दको प्रयोगले कृतिलाई अझ रोचक बनाएको भट्टराईको विश्लेषण थियो। विगतमा मदन पुरस्कारको सूचीमा परेका कृतिको हाराहारी उभिन सक्ने सामर्थ्य ‘सत्यम्’मा रहेको उनको निर्क्योल थियो।
वरिष्ठ साहित्यकार एवम् समालोचक प्रा.डा. गोविन्दराज भट्टराईले कथाकार वियोगीको लेखनशैली र शक्ति देखेर आफू ज्यादै प्रभावित भएको खुसी व्यक्त गरे। ‘यस्तो सशक्त प्रतिभा कथामा मात्रै खुम्चिनु हुन्न,’ उनले सुझाव दिँदै भने, ‘अब वियाेगीले सिर्जना क्षमता विस्तार गर्दै उपन्यास लेखनतिर लाग्नुपर्छ।’ कृतिकारभित्र उपन्यास सिर्जना गर्न सक्ने क्षमता रहेको पनि उनको निचोड थियो।