छाउपडी अपराध हो, पार्टी सदस्यले गरे चेतावनीसहित निष्कासन गर्नुपर्छ : डा. डिला संग्रौला

हिमाल प्रेस १५ भदौ २०८२ १०:०३ | Sunday, August 31, 2025
छाउपडी अपराध हो, पार्टी सदस्यले गरे चेतावनीसहित निष्कासन गर्नुपर्छ : डा. डिला संग्रौला

काठमाडौँ– नेपाली कांग्रेसकी नेतृ तथा पूर्वसांसद डा.डिला संग्रौला पन्तले अझै पनि देशभर छाउपडी प्रथा कायम रहनु दु:खद् भएको बताउँदै यसको अन्त्यका लागि अब स्थानीय नेतृत्वले जिम्मेवारी लिनुपर्ने धारणा राखेकी छन्।

उनले अछामको पञ्चदेवल विनायक नगरपालिका–८ बरालाको सेरापानीस्थित चुरेखोली टोलमा छाउ बार्न त्रिपालमा बसेकी एक महिला र एक बालिकाको भिरबाट खसेको ढुंगाले लागेर मृत्यु भएको घटनाप्रति दु:ख व्यक्त ‘गत असार अन्तिम साता कञ्चनपुरमा पनि छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट ज्यान गएको थियो। अधिकारकर्मीका अनुसार गएको २० वर्षमा कम्तीमा २६ जनाले छाउगोठमै ज्यान गुमाइसकेका छन्,’ उनले भनिन्।

नेपालले २०७४ सालमा छाउपडीलाई अपराध घोषणा गरेर कानुन कार्यान्वयनमा ल्याइसके पनि व्यवहारमा प्रथा कायमै रहेको उनले औंल्याइन्। ‘छाउगोठमा बस्न बाध्य महिलाहरू यौन हिंसा, स्वास्थ्य समस्या र मानसिक आघातको सिकार भएका छन्। कतिपय बलात्कारको समेत सिकार भएका छन्। २१औं शताब्दीमा यस्तो अमानवीय व्यवहार अस्वीकार्य छ,’ पन्तले भनिन्।

उनका अनुसार छाउपडी प्रथा अन्त्य गर्न सबै प्रमुख राजनीतिक दलहरूले अभियान सञ्चालन गर्नुपर्छ। ‘छाउ बार्न बाध्य पार्ने पार्टी सदस्यलाई चेतावनी दिनुपर्छ,आवश्यक परे पार्टीबाटै निष्कासन गर्नुपर्छ। २००७ सालमा हलो क्रान्तिको नेतृत्व कांग्रेसले गरेको थियो, अब त्यही क्रान्तिकारी विरासतलाई पछ्याउँदै छाउलगायत सबै खाले विभेद अन्त्य गर्न ढिला गर्नु हुँदैन,’ उनले भनिन्।

प्रकाशित: १५ भदौ २०८२ १०:०३ | Sunday, August 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast